संखुवासभा ।
संखुवासभामा मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमाभल्भो टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत परियोजनामा कार्यरत २ जना भारतीय मजदुरको मृत्यु भएको छ।
मकालु –५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर बुधबार साँझ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।
दुर्घटनामा परेर अरुण तेस्रो परियोजनामा कार्यरत टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्र प्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमद रहेको डिएसपी बस्नेतले बताए।
अरुण तेस्रो जलविद्युत परियोजनाको काममा लगाइएको टिपर ड्याम साइडमा काम गरेर फर्किने क्रममा साँझ ७ बजेतिर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो। टिपर सडकबाट करिब ५० मिटरजति तल खसेको थियो। दुर्घटनामा परेर २ जना घाइते भएका छन्। घाइते हुनेहरु पनि भारतीय नागरिक नै हुन्। घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ।








