रुपन्देही ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि रुपन्देही ल्याइने भएपछि बिहानैदेखि रुपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल र प्रहरी सशस्त्र प्रहरी परिचालन गरिएको छ । लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही ल्याउन लागिएको हो । बिहानै ७ः४५ को टिकट भए पनि विमानस्थलमा मौसम नखुल्दा पोखराबाट जहाज उड्न सकेको छैन ।
लामिछानेलाई रुपन्देही ल्याउने तयारीसँगै रास्वपाले भैरहवामा प्रदर्शनको तयारी गरिरहेको छ । नेता कार्यकर्तालाई बिहान १० बजे भैरहवामा उपस्थित हुन सो पार्टीले निर्देशन दिएको छ ।
यता सहकारी पीडितहरूले पनि सरकारी वकिलको कार्यालय अगाडि विरोध प्रदर्शनको तयारी गरिरहेका छन् । दोहोरो प्रदर्शनको तयारी भएसँगै प्रहरीले विमानस्थलदेखि सरकारी वकिलको कार्यालय परिसरसम्मको सुरक्षा व्यवस्था कडा पारेको छ ।








