मनोज पौडेल, भैरहवा ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार एकै दिन तीन अन्तर्राष्ट्रिय जहाजले अवतरण र उडान गरेका छन् ।
पहिलो पटक कतार एयरवेज अवतरण भएसँगै विमानस्थलमा तीन अन्तर्राष्ट्रिय एयरवेजले अवतरण र उडान गरेका हुन् । कतार एयरवेज दोहाबाट भैरहवा विमानस्थलमा दिउँसो २.४५ मा अवतरण भएर साढे ४ बजे काठमाडौंका लागि उडेको थियो भने कतार एयरवेज आएपछि कुबेतका लागि जजिरा एयर उडेको थियो । त्यसपछि फलाई दुबई उडेको हो ।
आठ वर्षदेखि विश्वमै उत्कृष्ट एयरलाइन्समा स्थान बनाएको कतार एयरवेजले मंगलबारदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक उडान गरेको छ । भैरहवामा उडान गर्ने कतार अब पाँचौं एयरलाइन्स बनेको छ । यसअघि नेपाल एयरलाइन्स, फ्लाई दुबई, जजिरा र थाई एयर एसियाले भैरहवाबाट उडान थालिसकेका छन् ।
गौतमबुद्ध विमानस्थलमा एकपछि अर्को विदेशी वायुसेवा कम्पनीले उडान सुरु गर्न थालेपछि यस क्षेत्रका पर्यटन व्यवसायी र सरोकारवाला उत्साहित बनेका छन् ।








