नविन भुसाल, वैखरी अनलाईन ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले सडक अतिक्रमण गरेर राखिएका संरचना धमाधम हटाउन सुरु गरेको छ । सोही अनुरुप बुधबार नगरपालिकाको वडा नं.२ गोरुसिंगे बजार क्षेत्र र त्यसका आसपासका क्षेत्र खाली गरिएको छ ।

नगर प्रहरी ज्ञानेन्द्र बस्नेतको नेतृत्वमा खटिएको टोलीले सडक अतिक्रमण हटाएको हो । यसभन्दा अगाडि वडा नं.७ र ८ मा सडक अतिक्रमणलाई हटाईएको थियो ।
सो क्रममा घरका अगाडि बाटोमा राखिएका घरयासी सामग्री, निर्माण सामग्री, ठेला पराल, बोर्ड, छाप्रो लगायत हटाएर सडक खाली गरिएको थियो ।

जेसिबी लिएर खटिएको जनप्रतिनिधिसहितको टोलीले अब यस कार्यलाई निरन्तरता दिने जनाएको छ । बुद्धभूमि नगरपालिकाले सडक अतिक्रमण हटाउन भन्दै पटकपटक सुचना जारी गर्दै आएको थियो । तर नगरवासीले उक्त सुचनाको अवज्ञा गरेपछि नगरपालिकाको जम्बो टोलीसहित खटिएको हो ।
नगरप्रमुख केशव कुमार श्रेष्ठले सडक अतिक्रमण हटाउने कार्य एकदिनलाई मात्र नभएर यसलाई निरन्तरता दिने नगरको योजना रहेको बताएका छन् ।
सडक पेटी खाली गर्दा सडक सुन्दर पनि देखिने र सडकमा हुने विभिन्न दुर्घटनाहरु कमी आउने उनको भनाई छ ।
उपप्रमुख मिरा थारुले नगरवासीले अटेर नै गरेपछि यसरी हटाउन बाध्य भएको बताईन् । उनले सम्पूर्ण नगरवासीलाई सडक अतिक्रमण गरेर सामग्री नराख्न आह्वान गर्दै यस अभियानलाई साथ दिएर असल, जिम्मेवार र कर्तव्यबोध नागरिकको परिचय दिन आग्रह गरिन् । उनले व्यवसायहरुलाई व्यवस्थित रुपमा संचालन गर्न आग्रह समेत गरेकी छिन् ।








