कृष्ण यादव, महाराजगञ्ज ।
कपिलवस्तुको महाराजगन्ज नगरपालिका- ९ शान्तीनगरमा निःशुल्क आँखा शिबिर गरिएको छ । शुक्रबार भएको उक्त शिविवरमा ३ सय ३४ जनाले आँखा चेकजाँच गराएका छन् । जसमध्येबाट ७९ जनाको मोतियाबिन्दुको अप्रेशन गरिएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख अब्दुल कलामले नगर भित्रका निम्न वर्गका र आँखाको समस्या भएका व्यक्तिहरुको समस्यालाई मध्येनजर गर्दै शिविर सञ्चालन गरेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । नगरप्रमुख कलामले नगरवासीको स्वास्थ्यप्रति संवेदनशिल भएर लागेको बताए । नगरवासीको स्वास्थ्य आवश्यकतालाई मध्येनजर गर्दै विभिन्न समय र स्थानमा नगरपालिकाले शिविरहरु गर्दै आएको उनले बताए ।

स्वास्थ्य नै मानिसको अमूल्य धन भएकाले स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले प्राथमिकता दिएको उनको भनाई छ । उनले मोतियाबिन्दुका कारण दुबै आँखा देख्न नसक्ने स्थिति आउन नदिन नगरपालिकाले शल्यक्रियासहितको शिविर आयोजना गरेको प्रस्ट पारे । शल्यक्रियाले अन्धोपनाबाट ग्रसित हुने स्थिति आउन नदिने र पुन आँखाको दृष्टि फर्काउन सकिने उनले बताए ।

सेवाग्राहीले मोतियाविन्दुको निःशुल्क अप्रेसन गर्न पाउँदा खुसी लागेको बताएका छन् । आँखा देख्न नसक्दा समस्या भएको बताउँदै उनीहरुले बुढ्यौलीमा आँखा देख्न पाउँदा संसार नै उज्यालो भएको बताए ।
महाराजगन्ज नगरपालिकाको आयोजना र नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजद्वारा संचालित छन्द ’कालेबाबु’ नारायणी आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा शिविर भएको हो ।








