रूपन्देही ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्त्वपूर्ण आयोजनाहरुमा लगानी भित्र्याउन दातृ निकायहरु संगको छलफललाई तीब्रता दिएका छन् ।
मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा ब्रिटस एम्बेस्सीका आर्थिक विभाग प्रमुख साम फेलको नेतृत्वमा रहेको टोलीसंग छलफल गर्दै प्रदेशको आर्थिक विकाससंग जोडिएका महत्त्वपूर्ण आयोजनाहरुमा लगानी गर्न मुख्यमन्त्री आचार्यले आह्वान गरे । सरकारले लगानीको वातावरण बनाउने भएकाले ढुक्क भएर प्रदेशका योजनाहरुमा साझेदारी गर्न उनले अनुरोध गरे ।
प्रदेश राजधानीलाई हरित र नदी सभ्यतामा आधारित नमुना शहर बनाउन लगानी चाहिएको जानकारी गराउँदै सरकारले लगानीको वातावरण बनाउने र त्यसमा ढुक्क भएर काम गर्न उनले आग्रह गरे ।
‘लगानीको वातावरण बनाउन चाहिने आधारहरु सरकारले बनाउँछ । ढुक्कको वातावरण हामी निर्माण गर्छौं । प्रदेशको आर्थिक विकास संग जोडिएका आयोजनालाई अघि बढाउन हामीसंग प्रशस्त बजेट छैन’ मुख्यमन्त्री आचार्यले भने,’दातृ निकाय, निजी क्षेत्रसंग सहकार्य गरेर महत्त्वपूर्ण आयोजनालाइ अघि बढाउन चाहन्छौं ।’
शिवपुर देखि कालाकाटेसम्म सुरुङ्ग मार्गको परियोजना ७ किलोमिटरको हुने प्रारम्भिक सर्वेक्षणबाट देखिएको छ । जसले१८ किलोमिटर बाटो छोटिने भएकाले राजधानी संग पहुँच सहज हुने देखिएको हो ।








