काठमाडौं ।
साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप अनुसन्धान गर्न म्याद थपका लागि आज अदालत पेस गरिने भएको छ । उनीमाथि किर्ते र विद्युतीय अपराध नियन्त्रण ऐनअन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको र थप अनुसन्धानका लागि म्याद थप गर्न आज पेश गर्ने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ।
सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले प्रधानमन्त्री केपी शर्मा ओलीको मानमर्दन हुने गरी झुठो र भ्रामक समाचार सम्प्रेषण गरेकाले प्रसाईंलाई पक्राउ जानकारी दिए। बुधबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वीर अस्पतालमा स्वास्थ्य जाँचपछि थप अनुसन्धानका लागि साइबर ब्यूरोमा पठाएको थियो।
प्रसाईंले किर्ते कागजात देखाएर प्रधानमन्त्री ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा लगानी रहेको भ्रम फिजाउँदै प्रसाईंले सोमबार केही कागजात सार्वजनिक गरेका थिए।
प्रसाईंले सुनियोजित रूपमा नै नक्कली कागजात भेला गरेको र भ्रम फैलाउन सामाजिक सञ्जालमा सार्वजनिक गरेको प्रहरीको अनुमान छ। सीआईबी प्रमुख एआईजी दीपक थापाले प्रसाईंले सार्वजनिक गरेका सबै कागजात र विवरण झुटो रहेको बताए ।








