गृहपृष्ठ Featured लुम्बिनीमा पुसमा ३६५ सवारी दुर्घटना, ५७ जनाको मृत्यु, ५९२ जना घाइते

लुम्बिनीमा पुसमा ३६५ सवारी दुर्घटना, ५७ जनाको मृत्यु, ५९२ जना घाइते

लुम्बिनी प्रदेशमा पुस महिनामा मात्रै तीन सय ६५ सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा परी ५७ जनाले ज्यान गुमाएका छन् भने पाँच सय ९२ जना घाइते भएका छन् ।

 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार यो अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार २६७ सवारी कारबाहीमा परेका छन् । प्रहरी कारबाहीबाट एक करोड ३० लाख २६ हजार पाँच सय एक रुपैयाँ राजस्व संकलन भएको छ ।

 

 

 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार लुम्बिनीमा सबैभन्दा धेरै दुर्घटना रुपन्देहीमा भएका छन् तर दुर्घटनामा ज्यान गुमाउनेको संख्या भने दाङमा धेरै छ । रुपन्देहीमा पुस महिनामा ८३ वटा सवारी दुर्घटनामा नौजनाले ज्यान गुमाएका छन् । यहाँ एक सय १६ जना घाइते भएका छन् । यस्तै, दाङमा ५६ वटा सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु र ९७ जना घाइते भएका छन् ।

 

 

 

नवलपरासी पश्चिममा ५० वटा सवारी दुर्घटना भएका छन् । यहाँ सातजनाको ज्यान गएको छ भने ९३ जना घाइते भएका छन् । बाँकेमा ५६ वटा दुर्घटना भएका छन् । यहाँ नौजनाको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन् ।

 

 

बर्दियामा ४५ सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् । कपिलवस्तुमा ४२ दुर्घटनामा नौजनाले ज्यान गुमाएका छन् । यहाँ ६५ जना घाइते भएका छन् ।

प्युठानमा १२ दुर्घटनामा दुईजनाको मृत्यु र २८ जना घाइते भएका छन् । रोल्पामा ११ दुर्घटनामा तीनजनाको मृत्यु र १६ घाइते भएका छन् । गुल्मीमा सातवटा दुर्घटनामा तीनजनाको ज्यान गएको छ । यहाँ २८ जना घाइते भएका छन् ।

 

 

पाल्पामा ६ वटा दुर्घटनामा दुईजनाको मृत्यु र नौजना घाइते भएका छन् । अर्घाखाँचीमा पाँचवटा दुर्घटनामा आठजना घाइते भएका छन् । यस्तै, पूर्वी रुकुममाा एक दुर्घटनामा चारजना घाइते भएका छन् ।

 

 

लुम्बिनी प्रदेशमा गत वर्षको पुस महिनाको तुलनामा यस वर्षको पुस महिनामा सवारी दुर्घटना बढेका छन् । गत वर्षको पुसमा यहाँ एक सय पाँचवटा दुर्घटना भएका थिए । यस्तै, यहाँ गत मंसिर महिनामा एक सय ९३ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ४९ जनाको मृत्यु र दुई सय ९५ जनामा घाइते भएका छन् ।

 

 

प्रहरीले दुर्घटना न्यूनीकरण गर्न ठाउँ-ठाउँमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको जनाएको छ । पुस महिनामा मात्रै एक हजार एक सय २६ पटक कार्यक्रम गरिएको प्रहरीले जनाएको छ । ती कार्यक्रममा ५२ हजार एक सय ९९ जना सहभागी भएको तथ्यांक प्रहरीसँग रहेको छ ।

 

सम्बन्धित् समाचार