गृहपृष्ठ Featured प्रधानमन्त्री ओली भन्छन्- ‘बुटवल-गोरुसिङ्‍गे सडक विस्तारको काम ३ वर्षभित्र काम सकिन्छ’

प्रधानमन्त्री ओली भन्छन्- ‘बुटवल-गोरुसिङ्‍गे सडक विस्तारको काम ३ वर्षभित्र काम सकिन्छ’

बुटवल ।

बुटवल–गोरुसिङ्‍गे सडकलाई ६ लेनमा स्तरोन्नति गर्ने कार्यको शिलान्यास भएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल सम्बोधन मार्फत उक्त सडक खण्डको शिलान्यास गरेका हुन् ।

सो क्रममा प्रधानमन्त्री ओलीले विकास निर्माण र पूर्वाधारका हिसाबले अब नेपाल अघि बढिसकेको बताए । प्रधानमन्त्री ओलीले बुटवल–गोरुसिङ्‍गे सडक खण्ड विस्तारको काम आगामी तीन वर्षभित्र गरिसक्ने उद्घोष गरे ।

आजै सिद्धबाबा सुरुङमार्गको सफलतापूर्वक ब्रेक थ्रु हुनु एक उपलब्धि भएको उनले बताए ।

उच्च संकल्प र आँटका साथ देशको विकास हामी आफैंले गर्नुपर्ने जोड दिए । प्रधानमन्त्री ओलीले विकास निर्माणमा विदेशी सहयोगी हातहरूको पनि साथ लिने स्पष्ट पारे ।

विदेशबाट ऋण लिए पनि मुख्यरूपमा उच्च संकल्प र आँटका साथ नेपाल र नेपालीले नै विकासका पूर्वाधारहरू बनाउने बताए । उनले पूर्वाधार विकासका कामहरू तीव्ररूपमा भइरहेको तर कतिपयले भ्रम फिंजाइरहेको बताए ।

तत्कालीन राजा महेन्द्रको पालामा २०१९ सालमा बनेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरूसिङ्‍गे सडकखण्ड ५० किलोमिटर लामो छ ।

बुटवल–नारायणगढ सडक खण्डमा जस्तो सवारीसाधन र यात्रुहरूलाई सास्ती नहोस् भनेर बुटवल–गोरुसिङ्‍गे सडक विस्तार गर्दा अहिलेको पिच नभत्काई सुरुमा दायाँ–बायाँतर्फको लेन बनाइसकेर मात्र बीच भागको सडक भत्काउने तयारी छ ।

चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा काम पूरा गर्ने गरी गत १३ असारमा ठेक्का पाएका थिए । ठेक्का सम्झौता भएको मितिले तीन वर्षभित्र सडक निर्माण सक्ने सम्झौता छ ।

सम्बन्धित् समाचार