वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर १ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालय बुङचीमा विद्यार्थीहरूले पढाईसँगै व्यवहारिक ज्ञान र सीप बढाउन शुक्रवार बिद्यालय खाना महोत्सव गरेका छन्। शुक्रबार पढने लेख्ने र खेलेर रमाउने उनीहरूले विद्यालयमा खानाका बिभिन्न परिकार बनाई खाना महोत्सव गरेका हुन ।

महोत्सवमा बिद्यार्थीको विभिन्न समुहले बिभिन्न खानाका परिकार बनाई प्रर्दशनी समेत गरेका थिए। बिद्यालयका प्रध्यानाध्यापक दल बहादुर थापा इश्वरले विद्यार्थीहरूलाई सीप, सामूहिकता र व्यवस्थापनको ज्ञान दिन यो कार्यक्रम गरिएको बताए।
उनले घरमा आफ्ना आमा बुवालाई समेत सघाउने गरी पाक शिक्षा तर्फ समेत अग्रसर रहन यो कार्यक्रमले भूमिका खेल्ने बताए।

पढाइसँगै अतिरिक्त क्रियाकलाप अन्तर्गत खाना महोत्सव गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर क्षेत्रीले बताए ।
साथै बिद्यालय खाना महोत्सवको अवलोकन गर्दै बाणगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खिम बहादुर जिसिले बिद्यालयमा हुने यस्ता क्रियाकलापले बिद्यार्थीको जिवनमा ब्यवहारिक ज्ञानलाइ बृद्धि समेत गर्ने बताउदैँ समय सापेक्ष यी र यस्ता गतिविधिको आयोजना गर्न आवश्यक रहेको बताए ।

बिद्यार्थीहरूले आवश्यक पर्ने भाडा कुडा, सामाग्रीहरू समेत आफै व्यवस्थापन गरेका थिए। समुह मिलेर बिभिन्न परिकारहरू पकाएर अतिथि, विद्यालयका शिक्षकहरूलाई परिकारका स्वाद समेत चखाएका थिए ।
कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता थियो। कार्यक्रममा सहभागी हुन पाउँदा विद्यार्थीहरू निकै खुशी देखिएका थिए ।
बिद्यालयमा दल बहादर थापाले प्रध्यानाध्यापकको जिम्मेवारी सम्हालेपछि अतिरिक्त क्रियाकलापदेखि शैक्षिक गुणस्तरीयतामा बिद्यालय अब्बल बन्दै गएको छ ।








