गुल्मी ।
गुल्मी जिल्लाको मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–छल्दी सडकखण्ड जीर्ण बन्दै गएको छ ।
राजमार्गको तम्घासदेखि छल्दीसम्मको ९ किलोमिटर कालोपत्रे गरिएको सडक हस्तान्तरण नहुँदै भत्किएर दुर्घटनाको जोखिम बढेको छ । सडकका नाली पनि बिग्रिएका छन् । जसले गर्दा राजमार्ग भएर आउ–जाउ गर्ने सवारी साधन तथा यात्रुहरुले सास्ती खेप्दै आएका छन् ।
कालोपत्रे सडक भत्किएर वषौंसम्म मर्मत नगर्नुले यस भेगका नागरिकले जोखिम मोलेरै यात्रा गर्नुपर्ने अवस्था रहेको रेसुङ्गा–४ का स्थानीय कमल रानाले बताए ।
उनले सडक मर्मतका लागि कार्यालयलाई जानकारी गराएपनि कुनै सम्बोधन नभएको गुनासो गरे । सडकको छल्दी तम्घास खण्ड सदरमुकाम नजिकै रहेर पनि मर्मतमा ध्यान नजानु दुखद रहेको धुर्कोट–५ का स्थानीय जोघुलाल भण्डारीले बताए ।