रुपन्देहीमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा ७ देखि ९ चैतसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।
सोमबार क्लबले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीका लागि उपसमितिहरू गठन गरिएको क्लबका द्वितीय उपाध्यक्ष तथा खेल संयोजक तुल्सीराम भट्टराईले जानकारी दिए । प्रतियोगितामा मेन्स सिगल, वुमन्स सिगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ प्लस तथा मास्टर भेट्रान्स ६० प्लस डबल्स गरी ६ विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका खेल नवदिलिप कभर्ड हल र लुम्बिनी कभर्ड हलमा खेलाइने उनले बताए ।
मेन्स सिगलका प्रथम, द्वितीय र तृतीयलाई क्रमश: नगद ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी, वुमन्स सिगलका प्रथम, द्वितीय, तृतीयलाई क्रमश: नगद ३० हजार, २० हजार र १० हजार रुपैयाँ पाउनेछन् ।
यसैगरी, मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: नगद ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पाउनेछन् । यसैगरी, भेट्रान्स ४५ प्लस डबल्समा प्रथम, द्वितीय र तृतीयलाई क्रमश: ४० हजार, ३० हजार र २० हजार रुपैयाँ पाउनेछन् ।
भेट्रान्स ५५ प्लस डबल्समा प्रथम, द्वितीय र तृतीयलाई क्रमश: नगद २० हजार, १५ हजार र १० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा तीन सयभन्दा बढी खेलाडी सहभागी हुने आयोजकले दाबी गरेको छ । प्रतियोगितामा साढे २६ लाख रुपैयाँ खर्च हुने क्लबका अध्यक्ष पंकज ज्ञवालीले बताए ।








