वैखरी अनलाईन, बाणगंगा ।
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका- १४ मा अवस्थित बाणगंगा सामुदायिक वन उपभोक्ता समूहको १७ औं बार्षिक साधारण सभा सम्पन्न सकिएको छ । उक्त कार्यक्रम आइतबार विक्रममा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै शितगंगा नगरपालिका- १४ का वडाध्यक्ष दामोदर न्यौपानेले वनले आर्थिक पारदर्शितामा जोड दिन आवश्यक रहेको बताए । उनले समाज रुपान्तरणमा वनको भूमिका महत्वपूर्ण रहने भन्दै समाजमा देखिने गरि काम गर्न आग्रह गरे ।
उनले हालसम्म वडा नं.१४ मा रहेका वनहरुले गरिब न्युनीकरण तथा सामाजिक विकासका कामहरु गर्न नसकेको भन्दै यसतर्फ विशेष ध्यान दिन आवश्यक रहेको बताए । विक्रम पावर क्षेत्रमा एउटा सभाहल आवश्यक रहेको भन्दै उनले भने, हामीलाई कार्यक्रम गर्न एउटा सभाहलको खाँचो छ । यसको निर्माणका लागि मैले पटकपटक यस क्षेत्रका वनहरुलाई आग्रह गरेको छु, तर केही देखाएको अवस्था छैन् ।’
वडाले विगतदेखि नै वनसंग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने उहाँले प्रतिवद्धता व्यक्त गरे ।

सवडिभिजन वन कार्यालय डोहटे वन अधिकृत अर्जुन चापागाईंले वन अमूल्य सम्पत्ति भएको बताउँदै यसको संरक्षणमा सबै एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिए । उनले लागत अनुमान गरेर मात्र खर्च गर्दा कामको गुणस्तरियता राम्रो हुने सुझाव दिए ।
उनले वनका ऐन नियमहरुको दायराभित्र रहेर काम गर्दै वनको आर्थिक पक्षलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिए । उनले वनको संरक्षण गरेमात्र यसको आम्दानीको सदुपयोग गर्न सकिने बताए । उनले आगलागीको सिजन आउन लागेको भन्दै अब सबै उपभोक्ताहरु सचेत हुन आवश्यक रहेको बताए । आगलागीबाट बचाउन सकेमात्र वन बच्ने उनको भनाई छ ।
आगलागी गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउने उनले चेतावनी समेत दिए ।

वनकी अध्यक्ष माया बैजाँलीले वनले वन संरक्षण, सम्बद्र्धनलाई प्राथमिकतामा राखेको बताईन् । समाज रुपान्तरणमा वनले खेल्न सक्ने भूमिका निर्वाह गर्न आफुले प्रयास गरे पनि सरोकारवाला पक्षबाट आवश्यक सहयोग पाउन नसकेको उनको गुनासो छ ।

वन सबैको साँझा सम्पत्ति भएकाले यसको रेखदेखमा सबैले चासो देखाउनुपर्ने उनले बताईन् । उनले वनलाई दिगो व्यवस्थापन गर्दै अझ सुन्दर र रमणीय बनाउने योजना रहेको बताईन् । उनले वनसंग सम्बन्धित सम्पूर्ण निकायसंग आवश्यक सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता समेत जनाईन् ।
पावर सामुदायिक वनका अध्यक्ष वीर बहादुर खम्चाँकी, समाजसेवी भक्त बहादुर अधिकारी, योग पल्ली मगर लगायतका वक्ताहरुले वनले आर्थिक पाटोलाई पारदर्शी बनाउँदै वन संरक्षणलाई प्राथमिकता दिएर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
उक्त कार्यक्रममा वनका सचिव धन बहादुर दर्लामीको सञ्चालनमा सम्पन्न भएको हो ।








