गृहपृष्ठ Featured लुम्बिनी साँस्कृतिक नगरपालिकाको १४औं नगरसभा सम्पन्न

लुम्बिनी साँस्कृतिक नगरपालिकाको १४औं नगरसभा सम्पन्न

वैखरी अनलाईन, लुम्बिनी ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको १४औं नगरसभा सम्पन्न भएको छ । नगरको १४औं नगरसभा बुधबार सम्पन्न भएको हो ।

उक्त नगरसभामा नगरप्रमुख सजरुद्दिन मुसलमानले आफु निर्वाचित भएर आएको २ वर्ष १० महिनासम्म भएका मुख्य मुख्य उपलब्धीहरुबारे चर्चा गरेका थिए । सो क्रममा उनले सेवा प्रवाहलाई थप छिटो छरितो र प्रभावकारी बनाउनका लागि नगर कार्यपालिकाको कार्यलय ४ वटा भवनबाट साविकमा सेवा प्रवाह हुँदै आएकोमा अहिले एउटै भवनबाट सेवा प्रवाहको शुरुवात गरेको बताए ।

उनले लुम्बिनीमा लामो समयदेखि मुख्य समस्याको रुपमा रहेको फोहोरमैला व्यवस्थानको कार्यलाई अव केही समयमा नै सुचारु हुने गरी वडा नं. ५ स्थित ढोडहवामा सरसफाई अध्ययन केन्द्रको निर्माण गरिएको तथा सोको लागि सरसफाइकर्मी तथा आवश्यक पुर्वाधार संरचना निर्माण गरिएको बताए । उनले हाल विददुतिकरणको कार्य भईरहेको समेत जानकारी गराए ।

एसियालि विकास बैंक, नेपाल सरकार, नगर विकास कोष तथा सहरी विकास मन्त्रालयको सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण, बसपार्क निर्माण, ग्लोवल पार्क निर्माण तथा पहुँचबाटो निर्माणका लागि सम्झौता सम्पन्न भई कार्य अगाडी बढेको उनले जानकारी दिए । उनले नगर जनतालाई सुशासनको प्रत्याभूमि दिलाउन प्रतिवद्ध रहेको बताए ।

नगरसभामा उपप्रमुख कल्पना हरिजनले चालु आर्थिक बर्षको प्रस्तावित थप बजेट तथा कार्यक्रम, नयाँ कार्यविधि तथा संशोधनका लागि पेश भएका कार्यविधिको विवरण प्रस्तुत गरेकी थिईन् । सो प्रस्तुत प्रस्तावहरु सर्वसम्मत पारित भएको थियो ।

उनले आर्थिक वर्ष ०८१।८२ को बजेट सभाबाट स्वीकृत भएका योजनाहरु संचालनका क्रममा कठिनाई तथा विवाद सिर्जना भएका कारण तथा वडाबाट सिफारिस भई आएका विभिन्न योजनाहरु संशोधन गरिएको बताईन् ।

उनले महत्वपुर्ण र अनिवार्य दायित्व अन्तर्गतका योजनाहरु थप गरिएको बताईन् ।

प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवालीले सुशासन र पारदर्शीतालाई ध्यानमा राखेर सेवा प्रवाहलाई थप चुस्त बनाउन नगर प्रतिवद्ध रहेको बताईन् ।

नगरपालिकाका समन्वयकर्ता तुल्सीराम लामिछानेको संचालनमा सम्पन्न उक्त नगरसभामा नगरप्रवक्ता इनामुल्लाह फकिरले स्वागत मन्तव्य राखेका थिए ।

सम्बन्धित् समाचार