सागर वि.क., वैखरी अनलाईन ।
बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीले उपभोक्ता सचेतना आजको आवश्यकता भएको बताएकी छिन् । उपभोग्य वस्तु खरिद गर्दा स्वयम् उपभोक्ता सचेत नहुँदा अधिकांश उपभोक्ता ठगिन पुग्ने उनको भनाई छ ।
सोमबार बाणगंगा नगरपालिका– ४ मा अवस्थित पिसहिमालय रिसोर्टमा भएको उपभोक्ता जागरण तथा उद्यमीहरुसंग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख चौधरीले यस्तो बताएकी हुन् ।

उनले गुणस्तरिय वस्तुको खरिद र उपभोग उपभोक्ताको अधिकार भएको बताईन् । सामान खरिद गरेपछि बिल नलिने प्रवृति रहेको भन्दै उनले त्यस्तो प्रवृतिलाई सुधार गर्नुपर्ने बताईन् । उनले नगरले अनुमगन गर्दा विना दर्ता नै व्यवसायहरु संचालन गरेको पाईएको बताईन् । उनले सबै व्यवसायीलाई व्यवसाय दर्ता प्रक्रिया पुरा गरेर मात्र सुरु गर्न आग्रह गरिन् ।

उनले बाणगंगामा सडक तथा फुटपाथमा अवैध रुपमा संचालन हुदैं आएका व्यवसायलाई नगरले सामान जफतसंगै कानुन दायरामा ल्याएको बताईन् । उनले अनुगमनलाई निरन्तरता दिने बताउँदै खाद्यसामग्रीको गुणस्तर मापन गर्ने उपकरण नहुदाँ समस्या झेल्नुपरेको बताईन् । उनले नगरपालिकामा दर्ता भएका कृषि फर्मलाई प्रोत्साहन गर्न अनुदान र तालिम दिदैं आएको बताईन् ।
कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हुमानाथ पौडेलले व्यवसायिक ऐन, नियमको कार्यान्वयनको अवस्था निकै कमजोर रहेको बताए । उनले विभिन्न समयमा क्षथि बेहोरेका व्यवसायीलाई सरकारले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताए । राज्यको कर प्रणालीबाट व्यवसाय मारमा परेको भन्दै उनले एकद्धार कर प्रणाली अवलम्बन गर्न आवश्यक रहेको बताए ।

उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेलले व्यवसायीमैत्री वातावरण निर्माणका लागि स्थानीय सरकारले ठोस कदम चाल्न नसकेको बताए । स्थानीय सरकारले व्यवसायीको हकहित हुने गरि निति तथा कार्यक्रम ल्याउनुपर्ने उनको भनाई छ ।
उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाका निर्देशक कृष्णप्रसाद गौतमले पछिल्लो समय उद्योग व्यवसायहरु संकटमा रहेको भन्दै यस्तो अवस्थाबाट माथि उकास्न सबै निकायको सहकार्य आवश्यक रहेको बताए । यस्ता कार्यक्रमले व्यवसायीसंगै उपभोक्तालाई जागरण जगाउन महत्वपूर्ण सावित हुने उनको विश्वास छ ।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यक्रम कपिलवस्तुका प्रमुख सन्तोष खनाल र उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाका शाखा अधिकृत नारायण न्यौपानेले उपभोक्ताको अधिकार, उत्पादक र विक्रेताको दायित्व, उद्योग दर्ता प्रक्रिया, कार्यालयको कार्यक्षेत्रसंग सम्बन्धित कानुन लगायतको बारेमा सहजीकरण गरेका थिए ।
उक्त कार्यक्रम उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यक्रम कपिलवस्तुको सहआयोजनामा सम्पन्न भएको हो ।








