वैखरी अनलाईन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ५ र ६ मा पर्ने गाउँब्लक क्षेत्रका बासिन्दाहरूलाई पूर्जा वितरण गरिएको छ । विहिबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गाउँ ब्लक क्षेत्रका बासिन्दालाई पुर्जा वितरण गरेका हुन् ।

नापी कार्यालय तौलिहवाका प्रमुख अधिकृत जनक बहादुर भण्डारीले बुद्धभूमि नगरपालिकामा ८ सय ३८ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको जानकारी दिए । पुस्तौँदेखि भोगचलन गर्दै आए पनि आफ्नो नाममा पुर्जा नहुँदा विभिन्न समस्या भोग्दै आएका नागरिकलाई अहिले जग्गाधनी पुर्जा वितरण गरिएको उनले बताए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कार्यक्रमलाई सम्बोधन गर्दै विधेयक ल्याएर भूमि सम्बन्धी समस्या समाधान गरिने दाबी गरे । भूमि समस्या समाधानका लागि ल्याइएको अध्यादेश प्रतिनिधि सभामा पास भए पनि राष्ट्रिय सभामा आवश्यक संख्या नपुग्दा पास हुन नसके पछि अब भूमि सम्बन्धी विधेयक ल्याएर समस्याको समाधान गरिने उनको भनाई छ ।
भूमि सम्बन्धी समस्या समाधान नहुदौ अझै भूमिहीन सुकुम्वासी लागतयका धेरै समस्याहरू अड्किएको बताए । उनले ऐन कानुन ल्याउन ढिलाई हुने भएकाले भूमि सम्बन्धी समस्या समाधान गर्न ल्याइएको अध्यादेश पास नुहुँदा भूमिहीन सुकुम्वासीको समस्या अड्किएको बताए । उनले भूमि सम्बन्धी समस्या समाधानको काम तीव्र गतिमा अघि बढेको र ७७ वटै जिल्लामा भूमि समस्या समाधान आयोग समिति गठन भई सकेको बताए ।
उनले गाउँ ब्लक, बालबिटोरी, उखडा, भूमिहीन सम्बन्धी सबै काम अघि बढेको बताए । उनले कपिलवस्तुको तौलिहवा र कृष्णनगर बजारमा रहेको बाल बिटोरी समस्या समाधानका लागि काम अघि बढेको बताए ।
बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले लामो समयपछि जग्गा पुर्जा बिहीनले पुर्जा प्राप्त गर्न सफल भएको बताए । उनले लालपुर्जा नहुँदा झेल्दै आएको समस्या समाधान भएको बताए । भुमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न पालिकाले निरन्तर काम गरिरहेको उनले बताए ।
नापी कार्यालय कपिलवस्तु र बुद्धभूमि नगरपालिकाको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको थियो ।








