लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन्।
आइतवार रूपन्देहीको बुटवलमा आयोजित ‘जितगढी विजयी उत्सव–२०८२’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गरेर लैजाने सोच र योजना बनाएको भन्दै त्यसलाई अगाडि बढाउन आफूले पहल थालेको बताए।
उनले रूपन्देहीको विकासका लागि स्थानीय तहसँग हातेमालो गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको दाबी गरे।
मुख्यमन्त्री आचार्यले भने, ‘प्रदेश सरकारले बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गरेर लैजाने जुन सोच र योजना बनाएको छ, यसलाई अगाडि बढाउन प्रदेश सरकार र व्यक्तिगततर्फबाट दिलोज्यान दिएर अगाडि बढ्ने निवेदन गर्न चाहन्छु। स्थानीय तहसँग हातेमालो गरेर अगाडि बढ्न प्रदेश सरकार तयार छ।’
वि.सं. १८७२ वैशाख ७ गते बुटवलको जितगढी किल्लामा कर्नेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अङ्ग्रेज फौजमाथि जित हासिल गरेको थियो। सोही दिनको सम्झनामा जितगढी किल्लामा हरेक वर्ष वैशाख ७ गते जितगढी विजय उत्सव मनाइँदै आइएको छ।








