गृहपृष्ठ Featured कश्मीर आक्रमणमा मारिएका सुदिपको आजै अन्त्येष्टि गरिने

कश्मीर आक्रमणमा मारिएका सुदिपको आजै अन्त्येष्टि गरिने

भारतको जम्मु कश्मीरमा आतङ्कवादी आक्रमणमा परी ज्यान गुमाएका बुटवल–११ का २७ वर्षीय सुदिप न्यौपाको शव परिवारलाई जिम्मा लगाइएको छ ।

मंगलवार दिउँसो बन्दुकधारीले गोली हानेर हत्या गरेका सुदीपको शव भारतको नयाँदिल्लीबाट लखनउसम्म हवाईमार्गबाट र त्यहाँबाट बेलहिया नाकासम्म सडक मार्ग हुँदै नेपाल पुर्‍याइएको थियो ।

बिहीवार बिहानै शव परिवारको जिम्मा लगाइएको छ । सुदीपको शव आजै बुटवल–११ मनकामनापथस्थित घरमा लगिएको छ । उहाँको आजै अन्त्येष्टि गरिने बताइएको छ । सुदीप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाई युवराज काफ्ले सहित शनिवार बुटवलबाट कश्मिरको मिनी स्वीटरजल्याण्ड समेत भनिने वैसरण उपत्यकामा घुम्न गएका थिए ।

त्यहाँ पुगेर घुमफिरमा रमाइरहेका बेला मंगलवार दिउँसो एक्कासी बन्दुकधारी आतङ्कवादीले गोली हानेर सुदीपको ज्यान लिएका थिए । सुदीपसँगै गएकी आमा रिमाकला, बहिनी र ज्वाइँले भागेर ज्यान जोगाउन सफल भएका थिए ।

भाग्ने क्रममा रिमाकला सामान्य घाइते समेत भएकी थिइन् । सुदीपको शव ल्याएर आमा, बहिनी र ज्वाइँ बुटवल आएका छन् । आमाबुबाको सम्बन्ध बिच्छेद भएपछि सुदीप आमा र बहिनीसँग बुटवल–११ कालीकानगरमा बस्दै आएका थिए ।

सम्बन्धित् समाचार