नेपालगन्जस्थित भेरी अस्पतालमा शनिबार आगलागी भएको छ। विद्युत् सट हुँदा अस्पतालको बहिरंग सेवा (ओपिडी) भवनमा रहेको मेडिकल स्टोरमा आगलागी भएको हो।
आगलागीबाट ओपिडी भवन, मेडिकल स्टोर, फार्मेसीलगायतका ठाउँमा क्षति पुगेको छ। आगलागीबाट झन्डै तीनदेखि चार करोडसम्मको क्षति भएको अनुमान गरिएको छ। मेडिकल स्टोरमा भएको क्षतिको पूर्ण विवरण भने आइसकेको छैन। छानबिन समितिको अध्ययनपछि पूरा विवरण आउने भेरी अस्पतालले जनाएको छ। उक्त मेडिकल स्टोरमा ल्याबलाई चाहिने रियाजेन्ट, भ्याक्सिनलगायतका मेडिकलहरू क्याथल्याब, औषधि तथा सर्जिकलका सामानहरू राखिएको थियो। ति जलेर नस्ट भएका छन्।
नेपालगन्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अस्पताल कर्मचारी, स्थानीयहरूले एक घण्टामा आगो नियन्त्रणमा लिएका थिए। आगलागीबाट अहिले प्रयोगशाला सञ्चालन गर्न सक्ने अवस्था छैन। पुरानो वाइरिङ भएकाले पनि विद्युत् सट भएको हुन सक्ने आँकलन गरिएको छ। यससम्बन्धी छानबिन गर्न एउटा समितिसमेत निर्माण गरिएको छ। अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालको संयोजकत्वमा चार सदस्यीय समिति गठन भएको भेरी अस्पतालका कार्यालय प्रमुख डा. निराजन सुवेदीले जानकारी दिए।
हरेक दिन खपत हुने सामान राखिएकै स्टोरमा आगलागी हुँदा अस्पतालको सेवा प्रभावित हुने उनी बताउँछन्। ओपिडी भवन, मेडिकल स्टोर, फार्मेसीलगायतका ठाउँमा क्षति भएको कारण तत्काल अस्पतालको बहिरंग सेवा सुचारु गर्न नसकिने भएकाले दुई दिन ओपिडी सेवा बन्द रहने उनले जानकारी दिए। उनका अनुसार आइत र सोमबार अस्पतालको ओपिडी सेवा बन्द रहने छ।








