गृहपृष्ठ Featured गुल्मी अस्पतालमा बालरोग विशेषज्ञ सेवा सुरु

गुल्मी अस्पतालमा बालरोग विशेषज्ञ सेवा सुरु

गुल्मी ।

गुल्मीको सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा नियमित रुपमा बालरोग विशेषज्ञ सेवा सुरु भएको छ। बालरोग विशेषज्ञ डा. प्रज्ञा शाक्य गुल्मी अस्पतालमा आउनुभएसँगै उक्त सेवा नियमित रुपमा सुरु भएको हो। गुल्मी अस्पतालमा बालरोग सेवा नियमित सुरु हुन लागेसँगै बालबालिका बिरामी भएर पाल्पा, बुटवल लगायतका अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य भएको छ।

बालबालिकामा देखिने समस्या नियमित अस्पतालबाट चेकजाँच गरिने हुँदा बालरोग विशेषज्ञ सेवाले यहाँका नागरिकलाई थप सहज हुने भएको बताइएको छ।

कान्ति बाल अस्पताल काठमाडौँमा कार्यरत डा. शाक्य स्थायी दरबन्दीमा नियुक्ति लिएर आउनुभएसँगै उहाँले ओपिडीमा दैनिक १२/१५ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिरहनु भएको छ। यो संख्या अझ बढ्ने देखिएको छ।

जन्मेदेखि १४ वर्षसम्मका बालबालिकाले वार्ड तथा ओपिडी सेवा पाउने बालरोग विशेषज्ञ डा. शाक्यले बताउनुभयो। बालरोग विशेषज्ञ सेवाले यस जिल्ला तथा छिमेकी जिल्लाका विभिन्न स्थानबाट बालबालिका उपचारका लागि आउने गरेका छन्।

अस्पतालबाट अहिले दैनिक रुपमा हाडजोर्नी, नशा तथा वाथ रोग विशेषज्ञ, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ, बालरोग विशेषज्ञ र आकस्मिक तथा जनरल मेडिसिन सम्बन्धि विशेषज्ञ सेवा प्रदान गरिएको छ।

अस्पतालले जटील खालको प्रसूति सेवा, माइनर अपरेसन, हेमोडायलाईसिस, अक्सिजन सेवा, नसर्ने रोगको पेन प्लस क्लिनिकबाट समेत सेवा दिँदै आएको छ।

सम्बन्धित् समाचार