रुपन्देही ।
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी अन्तर्गत प्रदेश पार्टी स्कुल विभागद्वारा आयोजित दुई दिने पार्टी सञ्चालनसम्बन्धी कार्यशाला रुपन्देहीको बुटवलमा सुरु भएको छ। वैशाख २२ र २३ गतेसम्म चल्ने कार्यशाला नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गरे ।
ज्ञवालीले प्रविधि र समसामयिक चुनौतीका विषयमा अपडेट भई पार्टीलाई वैचारिक स्पष्टतासहित एकीकृत बनाउनु अहिलेको आवश्यकता रहेको बताए।
कार्यशालाबाट लुम्बिनी प्रदेशमा स्थायी र प्रभावकारी पार्टी स्कुलको स्थापना तथा सञ्चालनमार्फत संगठनात्मक बलियोपन ल्याउने अपेक्षा गरिएको छ।
स्कुल विभाग सचिव घनश्याम कोइरालाले विचारधारात्मक कमजोरीका कारण पार्टीमा देखिएका समस्या समाधान गर्न पार्टी स्कुलको प्रभावकारिता महत्त्वपूर्ण हुने बताए।
कार्यक्रममा केन्द्रीय स्कुल विभाग सदस्य रामशरण प्याकुरेलले कार्यशालाको विधिबारे विस्तृत जानकारी दिँदै विभागीय अवस्थाबारे जानकारी लिन सहजीकरण गरे।
कार्यक्रममा स्वागत तथा औचित्यमाथि उपप्रमुख दलबहादुर गुरुङले सम्बोधन गर्दै कार्यशालालाई पार्टी स्कुल विभागको प्रभावकारी सञ्चालनका लागि दिशानिर्देश दिने अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राखे।








