रुपन्देही ।
बुद्धजन्मस्थल लुम्बिनीबाट विश्व शान्तिको सन्देश दिने उद्देश्यका साथ नेपाल शान्ति सम्मेलन गरिएको छ । भियतनामका वरिष्ठ बौद्ध गुरु भिक्षु डा. लाम (थे हुएन् दिउ) को सक्रियतामा नेपालबाट विश्वले शान्तिको शिक्षा लिनुपर्ने सन्देशसहित शान्ति सम्मेलन गरिएको हो ।
थाई ह्यून डिउ पिस फाउण्डेशनको आयोजनामा विश्वका विभिन्न देशहरूमा भइरहेको युद्ध अन्त्यको कामना गर्दै मेलमिलाप दया र करुणाबाटै समस्याको समाधान खोज्न आग्रह गरिएको छ । बुद्धिस्ट गुरुहरूसँगै हिन्दु, मुस्लिम र क्रिश्चियन धर्मका प्रतिनिधिहरुविच समेत सम्मेलनमा विश्व शान्तिका लागि छलफल गरिएको छ ।
सम्मेलनलाई सम्बोधन गर्दै वन तथा वातावरण राज्यमन्त्री रुपा विकले शान्तिको अग्रदूत गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा गरिएको सम्मेलन मार्फत विश्वमा शान्ति, सद्भाव र मेलमिलापको आह्वान गरिन् । उनले डा. लामले विश्वशान्तिका लागि गरेको काम निकै प्रशंसनीय रहेको बताउँदै नेपाल सरकारका तर्फबाट धन्यावाद दिइन् ।
यस्तै सम्मेलनमा पूर्वमन्त्री दीपकुमार उपाध्यायले विश्वसम्पदा स्थल लुम्बिनी शान्ति, अहिंसा र सद्भावको स्थल भएको बताउँदै डा। लामको पहलमा बुद्धको उपदेशमार्फत विश्वमा शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले नेपालमा भएको द्वन्द्व समाधानका लागि भएको पहललाई विश्वले सिक्नुपर्ने अभियान विश्वभर फैलाउने प्रयत्न आफैमा उदाहरणीय रहेको बताए ।
उनले हिंसा, घृणा र हतियारले कुनै मुलुक समृद्ध हुन नसक्ने बताउँदै बौद्ध दर्शनले अंगिकार गरेको शान्तिको मार्ग नै अवलम्बन गर्न अपिल गरे । लुम्बिनीमा पहिलो अन्तर्राष्ट्रिय भेयतनाम विहारका संस्थापक समेत रहेका भिक्षु डा। लामले विश्वभरका विभिन्न मुलुकहरूमा भइरहेको द्वन्द्व अन्त्यका लागि प्रार्थना समेत गरे ।
सम्मेलनमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खाँन, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, त्रिभुव विश्वविद्यालयका प्राध्यापक डा. राजेशकुमार राई र अमेरिकाबाट भिडियो मार्फत इन्टरनेश्नल क्रेन फाउण्डेशनका अध्यक्ष तथा प्रमुख कार्यकारी निर्देशक डा. रिचबेलफासले बोल्दै बुद्ध शिक्षामार्फत विश्वमा शान्ति, करुणा, मेलमिलाप कायम गर्न सकिने बताए ।
उक्त अवसरमा सबैधर्मका प्रतिनिधिहरुले शान्तिका लागि सामूहिक प्रतिबद्धता समेत जनाए । भिक्षु डा. लामसहित जापानीज बौद्ध गुरु जुनसेई तेरासावा, क्रिश्चियन धर्मका पास्टर रेभ. जिसे के. महाराणा, पण्डित मनोज कुमार मिश्र, अमेरिकाबाट भिडियो सन्देशबाट इन्टरनेशनल एकेडेमी फर इन्टरनेशनल कोअपरेसनका संस्थापक तथा अध्यक्ष डिभाइन मदर आयुदे कितागावाले सबै धर्मले शान्ति, करुणा र मेलमिलपाकै बाट हिँड्न प्रेरित गरेको बताउँदै विश्वशान्तिका लागि आह्वान गरे ।








