गृहपृष्ठ कपिलवस्तु बिशेष नेपाल लोकतान्त्रिक खेलकुद संघ कपिलवस्तुद्धारा खाद्यान्न र खेलकुद सामग्री हस्तान्तरण

नेपाल लोकतान्त्रिक खेलकुद संघ कपिलवस्तुद्धारा खाद्यान्न र खेलकुद सामग्री हस्तान्तरण

सागर वि.क., कपिलवस्तु ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ कपिलवस्तुले बाणगंगा नगरपालिका–१ मन्द्रेलीटोलमा रहेको फ्रिडम फाउण्डेसनलाई खाद्यान्न र खेलकुद सामग्री हस्तान्तरण गरेको छ । संघको ११ औं स्थापना दिवसको अवसरमा मंगलबार फाउण्डेसनलाई खाद्यान्न र खेलकुद सामाग्री हस्तान्तरण गरिएको संघका अध्यक्ष पदम प्रताप सेनले जानकारी दिनुभयो ।

उहाँले आज मंगलबार एक कार्यक्रमकाबीच एक क्युन्टल चामल, एक बोरा स्वाबिन, एक कार्टुन तेल, दाल, चाउचाउ, साबुन लगायतका खाद्यान्न र फुटवल सामाग्री फाउण्डेसनका अध्यक्ष हेमन्त थापालाई हस्तान्तरण गरेको जानकारी दिनुभयो । अध्यक्ष सेनले फाउण्डेसनलाई संघले विगतमा पनि सहयोग गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

युवाहरुले आफ्नो उर्जाशील समय आफ्नो व्यक्तित्व विकास र भविष्य निर्माणमा खर्चिनुपर्ने अवस्थामा कुलतको दलदलमा फस्नु सबैका लागि चिन्ताको विषय भएको उहाँले बताउनुभयो । उहाँले यस समस्यालाई सबै सरोकारवालाहरुले गम्भिरताका साथ लिएर समाधानका प्रयासलाई थप प्रभावकारी रुपमा संचालन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य लक्ष्मी चौधरीले लागुपदार्थ दुव्यर्सनीमा फसेका युवाहरुलाई फाउण्डेसनले सही मार्ग देखाउने काम गर्दै आएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले घरपरिवार, समाज र समग्र राष्ट्रको भरोसाका रुपमा रहेका युवाहरु कुलतमा फस्नु दुखद भएको भन्दै उनीहरुलाई यस्तो अवस्थाबाट छुटकारा दिलाउने कार्यमा सहजीकरण गर्नु सबैको दायित्व भएको बताउनुभयो ।

नेपाली कांग्रेस कपिलवस्तुका सचिव शक्तिसिंह ठकुरीले फाउण्डेसनमा रहेका युवाहरुलाई विगतलाई बिर्सिएर नयाँ शिराबाट सराकात्मक उर्जाका साथ जीवनको सुरुवात गर्न आग्रह गर्नुभयो । यस फाउण्डेसनले लामो समयदेखि कुलतमा फसेका युवाहरुलाई सत्कर्ममा लगाएर मानवीय धर्म निर्वाह गर्दै आएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो ।

नेपाल विधार्थी संघ कपिलवस्तुका सभापति चन्द्रकान्त पोख्रेलले नेपाली कांग्रेसको भातृसंगठनका रुपमा रहेको नेपाल लोकतान्त्रिक खेलकुद संघ कपिलवस्तुले छोटो समयमै खेलकुदसंगै सामाजिक क्षेत्रमा नमुना काम गरेको बताउनुभयो । उहाँले हाल फाउण्डेसनमा रहेका युवाहरुलाई यहाँबाट समाजमा गईसकेपछि अन्य युवाहरुलाई कुलतको सिकार हुनबाट रोक्ने कार्यमा लाग्न आग्रह समेत गर्नुभयो ।

वरिष्ठ समाजसेवी विष्णु प्रसाद न्यौपाने, सुर्यप्रसाद बराल, युवा समाजसेवी बुद्धि बहाहुर रोकाह क्षेत्री, खिमानन्द घिमिरे लगायतका वक्ताहरुले कुलतमा फसेका व्यक्तिहरुलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्नेमा जोड दिनुभएको थियो ।

संघका सचिव रन बहादुर क्षेत्रीको संचालनमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष कालिका उपाध्ययले स्वागत मन्तव्य राख्नुभएको थियो ।

सम्बन्धित् समाचार