वैखरी अनलाईन, बाणगंगा ।
जिल्ला फुटबल संघ कपिलवस्तुले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट सम्बन्धन प्राप्त गरेको छ ।
शुक्रबार काभ्रेको धुलिखेल नगरपालिकाको सभा हलमा भएको एन्फाको साधारणसभाबाट जिल्ला फुटबल संघ कपिलवस्तुले मताधिकारसहितको सम्बन्धन प्राप्त गरेको संघका अध्यक्ष तिलक थापाले वैखरीलाई जानकारी दिए ।
अध्यक्ष थापाले आफ्नो टिमको अथक प्रयास र संक्रियाताबाट नै यो परिणाम हात परेको बताए ।

पछिल्लो केही बर्षहरुमा जिल्ला फुटबल संघ कपिलवस्तुले खेलकुदका गतिविधिलाई तीब्र पार्दै आएको छ । सोही अनुरुप संघले २०८० र २०८१ सालमा पहिलो र दोस्रो सँस्करणको कपिलवस्तु तिलौराकोट गोल्डकप भव्यताका साथ सम्पन्न गरेको थियो ।
खेलप्रेमी युवा, समाजसेवी थापाले कपिलवस्तुमा खेलकुद क्षेत्रको विकासका लागि विभिन्न सरोकारवाला निकायमा सक्रियतापूर्वक वकालत गर्दै आएका छन् ।
उनले खेल पर्यटनका माध्यमबाट कपिलवस्तुलाई विश्वभर चिनाउन सकिने जिकिर गर्दै आएका छन् ।







