गृहपृष्ठ Featured लुम्बिनी प्रदेश सांसद गुरुङले बेलायत पुगेर पठाइन् राजीनामा

लुम्बिनी प्रदेश सांसद गुरुङले बेलायत पुगेर पठाइन् राजीनामा

जनमत पार्टीबाट लुम्बिनी प्रदेशसभा सदस्य रहेकी गीता गुरुङले जनताले तिरेको करबाट तलब खान उपयुक्त नभएको भन्दै राजीनामा पठाइन् । तर, उनको पदत्यागको कारण भने अर्कै रहेको खुलेको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टीबाट भैरहवाकी गुरुङ समानुपातिक सांसद भएकी थिइन् । सांसद भएको तीन वर्षपछि अचानक उनको राजीनामा आयो, त्यो पनि जनताको पिरमर्का आफूले बुझेको सन्देशसहित । राजीनामापत्रमा गुरुङले लेखेकी छिन्, ‘देश र जनताको पीरमर्का मैले राम्ररी बुझेको छु । राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यतासहित जनताले तिरेको करबाट तलब खान उपयुक्त नलागेकाले राजीनामा दिएको छु ।’

तर, उनले जनताको पिरले भन्दा बेलायत बस्न थालेकाले राजीनामा दिएको खुलेको छ । जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ताका अनुसार, गुरुङ दुई महिनादेखि पार्टीको सम्पर्कमा थिइनन् । उनी बेलायत नै बस्न थालेपछि प्रदेशसभामा जनमत पार्टीको प्रतिनिधित्व हुन सकेको थिएन ।

पार्टीबाट निरन्तर गुनासो आउन थालेपछि अन्ततः उनले बेलायतबाटै हस्तलिखित राजीनामा पठाएकी हुन् । राजीनामापत्र उनका पति कैलाश गुरुङले सार्वजनिक गरेका हुन् । सांसद गुरुङको राजीनामा आधिकारिक रूपमा प्रदेशसभामा पुगेर स्वीकृत भएपछि जनमतले उनको सट्टामा नयाँ सांसद पठाउने नेता गुप्ताले बताए ।

सम्बन्धित् समाचार