गृहपृष्ठ Featured लुम्बिनी क्रिकेट संघका अध्यक्ष गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पारित

लुम्बिनी क्रिकेट संघका अध्यक्ष गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पारित

क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष सञ्जय गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएको छ।

कपिलवस्तुको तौलिहवामा शुक्रबार सम्पन्न विशेष साधारणसभाले अध्यक्ष गुरुङविरुद्धको प्रस्ताव बहुमतले पारित गरेको हो। प्रदेशका ४१ मध्ये उपस्थित ३८ जनाले गुरुङविरुद्ध मत दिएका थिए। गुरुङ भने सभामा अनुपस्थित रहे।

संघका उपाध्यक्ष विनयराज भण्डारीको अध्यक्षतामा बसेको विशेष साधारणसभामा सात जिल्लाका प्रतिनिधि, प्रदेश सदस्यहरू गरी ३८ जना सहभागी थिए।

अध्यक्ष गुरुङले डेढ वर्षदेखि स्वेच्छाचारी र एकलौटी ढंगले संघ सञ्चालन गरेको, विधानविपरीत काम गरेको र पटकपटक सचेत गराउँदा पनि सुनुवाइ नगरेको आरोप असन्तुष्ट पक्षले लगाउँदै आएको थियो।

संघका कोषाध्यक्ष राजेश श्रेष्ठको डेढ वर्षअघि निधन भएपछि विधानतः अनिवार्य हुनुपर्ने कोषाध्यक्षको दस्तखतबिना नै अध्यक्ष गुरुङले आर्थिक कारोबार गर्दै आएको उपाध्यक्ष भण्डारीले बताए।

‘सच्चिने कुनै उपाय नदेखिएपछि चैत २२ गते ३१ जनाले अध्यक्ष गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थियौं,’ भण्डारीले भने।

अविश्वासको प्रस्ताव दर्ता भएपछि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले विशेष साधारणसभा गर्न र सचिव पारस खड्काले स्थगन गर्न छुट्टाछुट्टै पत्र पठाएपछि विवाद चुलिएको थियो।

विवाद राष्ट्रिय खेलकुद परिषद् (राखेप) सम्म पुगेको थियो। राखेपले सुरुमा विशेष साधारणसभा नगर्न निर्देशन दिए पनि पछि जेठ २ गते संघको विधान र विनियमावलीको प्रतिकूल नहुने गरी सुनिश्चितता गर्न/गराउन लिखित निर्देशन दिएको थियो।

सोही निर्देशनअनुसार विशेष साधारणसभा गरिएको क्यानका केन्द्रीय सदस्य प्रदीप मजगैयाँले बताए।

यसैबीच, पदमुक्त अध्यक्ष गुरुङले भने क्यानका अध्यक्ष चन्दले चलखेल गरी विधानविपरीत आफूलाई हटाउने प्रपञ्च रचेको आरोप लगाउँदै आएका छन्।

विशेष साधारणसभापछि बसेको प्रदेश कार्यसमितिको बैठकले उपाध्यक्ष विनयराज भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ। दुई सातापछि पुनः बस्ने विशेष साधारणसभाले नयाँ प्रदेश अध्यक्ष र कोषाध्यक्ष चयन गर्ने बताइएको छ।

सम्बन्धित् समाचार