गृहपृष्ठ Featured संविधान दिवसमा छुटेका सुजनले बुटवलमा गरे पूर्वपत्नी र दुई छोरीको हत्या

संविधान दिवसमा छुटेका सुजनले बुटवलमा गरे पूर्वपत्नी र दुई छोरीको हत्या

बुटवलको होराइजन चोकस्थित मिलिजुली पथमा रहेको सुजन कोइरालाको घरमा केही दिन यता किचन र्‍याक बनाउने काम भइरहेको थियो । र्‍याक बनाउने मिस्त्री सधैं झैं बुधबार पनि बिहानै कोइरालाको घरमा पुगे, र भित्र पसे । तर, घरभित्रको अवस्था भने भयावह थियो । रक्ताम्य अवस्थामा भुइँमा तीन जना ढलेका थिए ।

घाँटी रेटिएको, आलो रगत गन्हाएको, घरपर भुइँ र कपडामा समेत रगतले भिजेर कट्कटिएका थिए । एक महिला र दुई बच्चा (बालिका) भुइँमा ढलेको देखेपछि मिस्त्रीले काम सुरु गरेनन् । फुत्त घरबाट बाहिर निस्किए, अनि वरपरका स्थानीयलाई खबर गरे ।

उनै मिस्त्रीले प्रहरीलाई पनि खबर गरे । मिस्त्रीबाट माथि उल्लेखित सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख तथा एसपी प्रदीप क्षेत्रीले बताए ।

प्रहरी घटनास्थल पुग्दा तीन जना भुइँमै ढलेका थिए । शरीर चिसो भइसकेको थियो । प्रारम्भिक अनुसन्धानमै तीन जनाको हत्या भएको निष्कर्ष निकाल्न प्रहरीलाई गाह्रो भएन । उक्त घरधनीबारे सोधीखोजी गर्दा सुजन कोइराला एक्लै बस्दै आएको खुल्यो ।

३५ वर्षीय कोइराला त्यतिबेला पनि घरमै थिए । उनलाई नियन्त्रणमा लिएर सामान्य सोधपुछ गर्ने बित्तिकै उनले हत्या स्वीकारे । त्यसपछि प्रहरीले उनलाई अहिले हिरासतमा लिएको छ । तीन जनाको हत्यामा रुपन्देही जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइने एसपी क्षेत्रीले बताए ।

सम्बन्धित् समाचार