गृहपृष्ठ Featured बुद्धभूमिलाई रोटरी क्लब अफ कपिलवस्तुको अग्नि नियन्त्रक सुरक्षा पोसाक

बुद्धभूमिलाई रोटरी क्लब अफ कपिलवस्तुको अग्नि नियन्त्रक सुरक्षा पोसाक

रोटरी क्लब अफ कपिलवस्तुले बुद्धभूमि नगरपालिकाका अग्नि नियन्त्रकलाई अग्नि सुरक्षा पोशाक हस्तान्तरण गरेको छ । एक कार्यक्रमबीच क्लबका अध्यक्ष बालकृष्ण पाण्डे र पूर्वअध्यक्ष टी. एन. गैरेले बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठलाई उक्त पोशाक हस्तान्तरण गर्नुभएको हो ।

रोटरी क्लब अफ कपिलवस्तुका अध्यक्ष पाण्डेले बरुण यन्त्रका अग्नि नियन्त्रकहरू जनताको ज्यान र सम्पत्तिको सुरक्षाका लागि जोखिम मोलेर काम गरिरहेको उल्लेख गर्दै उनीहरूको सुरक्षाका लागि पोशाक अत्यावश्यक रहेको बताउनुभयो ।

“आगलागी नियन्त्रणमा खटिने कर्मचारीहरूसँग आवश्यक सुरक्षात्मक पोशाक नहुँदा उनीहरूले निकै कठिनाइ भोग्नु परेको थियो,” अध्यक्ष पाण्डेले भन्नुभयो, “अब यी पोशाकले उनीहरूलाई आगो निभाउने क्रममा थप आत्मविश्वास र सुरक्षा प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ ।”

नगरप्रमुख केशवकुमार श्रेष्ठले बुद्धभूमि नगरपालिकाले हालै खरिद गरेको दमकलसँगै अब सुरक्षात्मक पोशाक प्राप्त भएपछि नगरमा आगलागी नियन्त्रण कार्य अझ प्रभावकारी हुने अपेक्षा व्यक्त गर्नुभयो ।

उहाँले अग्नि सुरक्षा क्षेत्रमा देखाएको सक्रियताका लागि रोटरी क्लब अफ कपिलवस्तुलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा राख्नुभएको थियो ।

कार्यक्रममा नगरप्रमुख प्रशासकीय अधिकृत वादसुदेव भट्टराई, रोटरियन ज्ञानु चौधरीलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार