गृहपृष्ठ Featured घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट र केवाईसीको प्रावधानबाट सरकार किन पछि हट्यो ?

घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट र केवाईसीको प्रावधानबाट सरकार किन पछि हट्यो ?

काठमाडौं ।

घरजग्गा कारोबारमा ल्याएको निर्देशनबाट सरकार आफैँ पछि हटेको छ । यसअघि, सरकारले घरजग्गा किनबेचमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य पेस गर्नुपर्ने ‘नो योर कन्टुमर’ (केवाईसी) भर्नुपर्नेलगायत प्रावधान ल्याएको थियो । तर, व्यवसायीको चर्को दबाबपछि सरकारले ल्याएको कार्यविधि एक साता पनि टिक्न सकेन ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले यही जेठ १४ गते नयाँ निर्देशन जारी गरी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी नयाँ निर्देशन, २०८२ जारी गरी घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट र केवाईसी आवश्यक पर्ने व्यवस्था गरेको थियो । नयाँ निर्देशनको विरोध भएपछि सरकारले आइतबार निर्देशनलाई संशोधन गरेको छ ।

बैंक स्टेटमेन्ट र केवाईसी भर्नुपर्ने प्रावधानलाई हटाएर निर्देशिका संशोधन गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवत्ता तथा सहसचिव गणेशप्रसाद भट्टले बताए । घरजग्गा कारोबार गर्दा बैंक स्टेटमेन्ट देखाउने र केवाईसी भर्ने प्रक्रिया झन्झटिलो हुने देखिएपछि विज्ञहरूको सुझावमा हटाइएको उनको भनाइ छ ।

प्रवत्ता भट्टले भने, “घरजग्गा व्यवसायीको दबाबले नभई कारोबार गर्दा झन्झट हुने देखेर हटाइएको हो ।”

कार्यविधि परिवर्तन भएर आइसकेको उनले जानकारी दिए । सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंकवाद क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा जारी भएको निर्देशन, २०८२ संशोधन गरेर घरजग्गा कारोबारमा कडाइ गरेको थियो । मुलुकको अर्थतन्त्र शिथिल भएका बेला चाँडो गति दिने घरजग्गा व्यवसायलाई कडाइ गर्दा झनै समस्या आउने व्यवसायीको भनाइपछि सरकार निर्देशनबाट पछि हटेको हो ।

सम्बन्धित् समाचार