लुम्बिनी केबलकार लिमिटेड औपचारिक रुपमा सञ्चालनमा आएको दुई वर्ष पूरा गरी तेस्रो वर्ष प्रवेश गरेको छ । १५ जेठ ०८० देखि व्यवसायिक सञ्चालनमा आएको केबलकारको औपचारिक उद्घाटन २५ जेठ ०८० मा भएको थियो ।
बुटवल–३ बमघाटमा तल्लो स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरमा माथिल्लो स्टेशन रहेको केबलकारले बुटवल र बसन्तपुरलाई जोडेको छ । सञ्चालनमा आएको दुई वर्षमा साढे तीन लाखभन्दा पनि बढी पर्यटकले केबलकार यात्रा गरेका कम्पनीले जनाएको छ । कूल पर्यटकमध्ये भारतीय पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा तीन गुनाले वृद्धि भएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा ८ प्रतिशत भारतीय पर्यटक आएकामा चालु आर्थिक वर्षमा बढेर २१ प्रतिशत पुगेको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए । दुई वर्षमा करिब ५० हजार भारतीय पर्यटक आएको कम्पनीले जनाएको छ । तेस्रो मुलुकका पर्यटक संख्या भने एक प्रतिशतभन्दा कम छ ।
समुन्द्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको डाँडोमा लुम्बिनी केबलकारको माथिल्लो स्टेशनसहित प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर, जीपलाइन, स्काई साइक्लिङ, ज्वायन्ट स्वीङ (आधुनिक पिङ), बाल उद्यान, भ्यू प्वाइन्ट, रेष्टुरा, सेमिनार हललगायत पर्यटकीय संरचना बनेकाले दुई वर्षमै बसन्तपुर आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।
२९ वर्षअघि २०५३ सालमा स्थानीय लक्ष्मण गौतम, तेजप्रसाद सुनार, ऋषि भण्डारीलगायतले बुटवलबाट बसन्तपुर जोड्ने गरी केबलकार सञ्चालनको परिकल्पना गरी करिब सय रोपनी जग्गा खरिद गरेका थिए ।
६ वर्षअघि चन्द्रप्रसाद ढकाल समूहको आइएमई ग्रुपले नेतृत्व लिएपछि भने केबलकार निर्माणले गति लिई सुरु गरेको दुई वर्षमै केबलकार सपना सार्थक भएको थियो । बसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माताको मन्दिरलाई पुनःनिर्माण गरी नयाँ बनाइएको छ । यी दुई मन्दिर हिन्दु धर्मावलम्बीका लागि विशिष्ट आकर्षण बनेका छन् ।








