बुटवल ।
वडाहरुलाई आगामी आर्थिक वर्षको वजेटको सिलिङ (सीमा) नदिइ वर्षे अधिवेशन आह्वान गरेपछि अधिकांश वडाध्यक्षहरू बुटवलका मेयर खेलराज पाण्डेयसँग रुष्ट भएका छन् ।
विगतका वर्षहरुमा वजेट अधिवेशनको एक महिना अगावै वडाहरुले पाउने वजेटको सिलिङ (सीमा) तोकिन्थ्यो । बुटवलमा १९ वडा छन् ।
सिलिङ तोकेपछि त्यसका आधारमा टोलदेखि वडा हुँदै नगर कार्यपालिकासम्म सात वटा चरण पार गरेर योजनालाई अन्तिमरुप दिइ बजेट बनाउने गरिएकामा यसपटक सिलिङ गुपचुप राख्न खोजिएको भन्दै वडाध्यक्षहरु मेयर पाण्डेयको रबैयाप्रति रुष्ट बनेका हुन् । असार १० गते नगरसभामा वजेट पेस गर्ने तयारी छ ।
बजेट पेस गर्न दुई हप्ता मात्र बाँकी हुँदासम्म सिलिङ नतोकेर गुमराहमा राखेको भन्दै मेयरको कार्यशैलीप्रति असहमति जनाउँदै कांग्रेसबाट निर्वाचित वडा नं ९ का वडाध्यक्ष प्रदीपप्रसाद श्रेष्ठले सामाजिक विकास समितिबाट राजीनामा दिएका छन् । ‘सिस्टम अनुसार एक महिनाअघि सिलिङ तोकेर जानुपर्नेमा मेयरले वडाध्यक्षलाई रैती बनाउने, कजाउने जस्तो व्यवहार देखाए’, श्रेष्ठले भने, ‘मेयरले कार्यशैली नसच्याए मेयरको खल्तीको वजेट स्वीकार्न सकिंदैन ।’
वडा नं १ का वडाध्यक्ष नरेन्द्र बस्नेतले पनि एक महिनाअघि बजेटको सिलिङ तोकेर अघि बढ्नुपर्नेमा मेयर पाण्डेय अपारदर्शी र अलोकतान्त्रिक ढंगले चलेको आरोप लगाए ।
‘असार ५ गते वजेट अधिवेशन सुरु हुँदैछ र १० गते नगर सभामा वजेट पेस गर्नुपर्छ तर दुई हप्ता मात्रै समय बाँकी हुँदासम्म वडाको बजेट सिलिङ नतोक्नु अपारदर्शी चरित्र हो’, बस्नेतले भने, ‘फरक मतको सम्मान नगर्ने, बैठकमा फरक मत आयो भने रिसाएर बैठक छाडेर हिंड्ने जस्ता अलोकतान्त्रिक रबैया मेयरको छ, यसरी चल्दैन, छिटोभन्दा छिटो सिलिङ तोक्नुपर्छ ।’
वडाध्यक्षहरुलाई गुमराहमा राखेर बजेटको ठूलो हिस्सा आफूले अबण्डा शीर्षकमा राखेर आफ्नो स्वार्थ अनुकुलका कार्यक्रममा मनपरी बजेट वितरण गर्ने शैली देखिएमा स्वीकार नगर्ने उनले बताए ।