गृहपृष्ठ Featured इजरायलमा मिसाइल आक्रमण : ८ जनाको मृत्यु, ८७ घाइते

इजरायलमा मिसाइल आक्रमण : ८ जनाको मृत्यु, ८७ घाइते

काठमाडौं ।

इजरायलका प्रमुख शहरहरु तेल अबिब, हैफासहितका शहरमा इरानले मिसाइल आक्रमण गरेको छ ।

इजरायलको आपतकालीन सेवा-एमडीएले तेल अबिबसहित चार स्थानमा भएको मिसाइल आक्रमणमा ८ जनाको ज्यान गएको उल्लेख गरेको बेलायती अखबार द गार्डियनले जनाएको छ ।

‘ज्यान गुमाउने अधिका‌श करिब ७० वर्ष उमेरका छन् । ८७ जना घाइते छन्’, समाचारमा भनिएको छ ।

तेल अबिब नजिकै रहेको पेताह टिक्वा शहरमा एउटा आवासीय भवनमा मिसाइल खस्दा भवनका सीसा फुटेका छन्, कङ्क्रिटका पर्खालहरू जलिसकेका छन् । धेरै अपार्टमेन्टहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् ।

उत्तरको बन्दरगाह सहर हैफामा करिब ३० जना घाइते भएका छन् । उद्धारकर्मीहरू घटनास्थलमा खोज तथा राहत कार्यमा जुटेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार बन्दरगाह नजिकैको विद्युत उत्पादन केन्द्रमा आगलागी भएको छ ।

इरानको सरकारी टेलिभिजनका अनुसार इरानले कम्तीमा १०० वटा मिसाइल इजरायलतर्फ प्रहार गरेको छ । यो आक्रमण शुक्रबार इजरायलले तेहरानमा गरेको आणविक कार्यक्रम तथा सैन्य नेतृत्वमाथिको आश्चर्यजनक आक्रमणको बदलाको रुपमा गरिएको इरानले भनेको छ ।

इरानी रिभोलुसनरी गाड्र्सले यसपटकको आक्रमण नयाँ तरिकाले गरिएको दाबी गर्दै भनेको छ, ‘यसले इजरायलको धेरै तहको प्रतिरक्षा प्रणाली आफैं एकआपसमा भिड्ने स्थिति सिर्जना भयो ।’ यद्यपि, इजरायली सेनाले यसबारे प्रतिक्रिया दिएको छैन ।

सम्बन्धित् समाचार