गृहपृष्ठ Featured १ अर्ब ७६ करोड ८० लाख रुपैयाँ बराबरको बजेट ल्याउँदै बाणगंगा

१ अर्ब ७६ करोड ८० लाख रुपैयाँ बराबरको बजेट ल्याउँदै बाणगंगा

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/८३ को लागि १ अर्ब ७६ करोड ८० लाख रुपैयाँ बराबरको अनुमानित वार्षिक बजेट ल्याउने भएको छ । विहिबार १७ औं नगरसभाको पहिलो बैठकमा आगामी आर्थिक बर्ष २०८२/८३ को निति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा नगरप्रमुख चक्रपाणी अर्यालले अनुमानित बार्षिक बजेटबारे जानकारी दिनुभएको हो ।

आगामी असार १० गते १७औं नगरसभाको दोस्रो बैठकमा नगर उपप्रमुख रिता कुमारी चौधरीले आज प्रस्तुत निति तथा कार्यक्रमका आधार बजेट ल्याउने जनाईएको छ ।

बाणगंगा नगरपालिकाले विहिबार सामाजिक विकास र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक बर्ष २०८२÷८३ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । विहिबार नगर प्रमुख चक्रपाणी अर्यालले १७औं नगरसभाको पहिलो बैठकमा आगामी आ.व.को निति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

उहाँले समावेशी, समानुपातिक, सहभागितामूलक कार्यक्रम संचालन गरी नगरले तय गरेको कार्यात्मक रणनिति ‘ब्राण्ड बाणगंगा, बिलिभ बाणगंगा’लाई आत्मसात गर्दै जनताको खुसियाली अभिवृद्धि गर्ने उद्देश्य राखिएको बताउनुभयो । निति तथा कार्यक्रममा “राष्ट्रिय र प्रादेशिक अभियान सम्पन्नताको सुनिश्चितता, सामाजिक विकासमा लगानी हाम्रो प्राथमिकता“ भन्ने अभियानलाई निरन्तरता दिईएको छ ।

बाल स्वास्थ्य कार्यक्रम अन्तर्गत पूर्णखोप दिगोपनाको अवस्थालाई कायम राख्ने र ५ वर्ष मुनिका बालबालिकाहरुका लागि नियमित पोषणको अवस्था जाँच गर्ने कार्यक्रमलाई निरन्तरता दिदै आवश्यक कार्यक्रम सञ्चालन गरिने निति तथा कार्यक्रममा उल्लेख छ ।

नगरप्रमुख अर्यालले सो क्रममा नगरका सवै स्वास्थ्य संस्थालाई क्रमशः पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गर्दै पोषण मैत्री वडा र पोषणमैत्री नगरपालिका घोषणा गरिने कार्यक्रमलाई निरन्तरता दिईने बताउनुभयो । पोषणमैत्री स्वास्थ्य संस्था, वडा तथा कार्यालय हुनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारका लागि आवश्यक बजेट व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।

उहाँले विद्यालयमा अध्ययनरत बालबालिकाहरुको लागि विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत पत्रु खाना (जंक फुड) नियन्त्रण, किशोरीहरुको लागि आईरन चक्की वितरण र रक्तअल्पता स्कृनिङ्ग तथा उपचार कार्यक्रमलाई निरन्तरता दिईने बताउनुभयो ।

“गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो पौरख, सुविधायुक्त बाणगङ्गा अस्पताल नगरकै गौरव“ भन्ने नाराका साथ बाणगङ्गा नगरपालिकाद्वारा सञ्चालित पिपरा अस्पतालमा विशेषज्ञ सेवा विस्तरका लागि (स्त्री रोग, हाड जोर्नी, आँखा, मानसिक, नाक कान घाँटी, जनरल फिजिसियन) आवश्यक भौतिक पूर्वाधार तथा औषधी उपकरणको लागि कार्यक्रम अघि बढाईने निति तथा कार्यक्रममा उल्लेख छ ।

उहाँले पूर्णखोप दिगोपनाको अवस्था कायम राख्न र नगरका सबै स्वास्थ्य संस्थालाई क्रमश पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्दै पोषणमैत्री नगरपालिका घोषणा गर्न आवश्यक कार्यक्रम संचालन गरिने बताउनुभयो ।

नगरप्रमुख अर्यालले खेलकुुदलाई संस्थागत गर्न एक वडा एक खेलमैदान, एक खेल विद्या एक खेलमैदानको अवधारणालाई अन्तरनिकाय लगानीमा क्रमशः निर्माण गरिने उल्लेख गर्नुभयो ।

यस्तै नगरप्रमुख अर्यालले चालु आर्थिक बर्ष २०८१÷८२ को कुल बजेट १ अर्ब २८ करोड ५ लाख २४ हजार रहेकोमा हालसम्म कुल विनियोजित रकमको ८० प्रतिशत निकासा भई कुल प्रशासनिक र पुँजीगत खर्च ७४.५ प्रतिशत देखिएको बताउनुभयो । उहाँले आन्तरिक स्रोत परिचालनमा हालसम्म १५ करोड ४ लाख ६१ हजार ४६३ रुपैयाँ संकलन भई राजस्व प्रक्षेपणको हालसम्म ८५ प्रतिशत भन्दा बढी प्रगति हासिल भएको जानकारी दिनुभयो ।

१७ औं नगरसभाको पहिलो बैठकले आगामी आव २०८२÷०८३ को निति तथा कार्यक्रम, नगर उपप्रमुख रिता कुमारी चौधरीले प्रस्तुत गरेको आर्थिक विधेयक, २०८२, पूर्वाधार विकास समितिका संयोजक विष्णुप्रसद पौडेलले प्रस्तुत गर्नुभएको योजना संसोधन अनुमोदनको प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

निति तथा कार्यक्रम

सम्बन्धित् समाचार