कृष्ण पौडेल
कपिलवस्तु, ७ असार ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा बाघको आक्रमणले स्थानीय बासिन्दाहरूमा त्रास र असुरक्षा बढेको छ। पछिल्लो चार महिनामा बाघले दर्जनौँ घरपालुवा जनावर खाँदा जनजीवन नै प्रभावित भएको हो ।

विजयनगर गाउँपालिका–६ स्थित उज्ज्वलपुर, भाटा, डालपुर, नौरंगिया, छुटपाटी, सेमरी, भगीरामपुर र नौसहरा गाउँमा बाघले खोरमै पसेर गाई, बाख्रा, भेडा, बुङ्गुर र कुकुर मारेको स्थानीयवासीको भनाइ छ। उज्ज्वलपुरमा मात्र १२ वटा घरपालुवा जनावर र २० बढी सामुदायिक कुकुर बाघको आहार बनेका हुन्।
स्थानीय श्रीकृष्ण पौडेलका अनुसार साझेदारी बन क्षेत्रमा पाटेबाघ र चितुवा समेत देखिने गरेका छन्। उनी भन्छन्, ‘बाघले खोरभित्रै पसेर जनावर लाने गरेको छ। यस्तो अवस्था दोहोरिरहँदा हामी सधैं डरमा बाँचिरहेका छौं,’ ।
सुनमाया घर्ती मगरको १ बङ्गुर र १ बाख्रा बाघले तानेर मारेको उनले बताइन्। सिताराम लोहारको १ बाख्रा, लोकमाया रानाको ३ बाख्रा र १ कुकुर, सीता सुपार्य मगरको १ भेडा, विसरा कुमारी रोका घर्ती मगरको १ बुङ्गुर र १ बाख्रा घाइते, मनमाया सुनारको १ बाख्रा, र टेकबहादुर खत्रीको २ भेडा र २ बाख्रा बाघको आक्रमणमा परेका छन्।
चराउँदा चराउँदै बाघले जनावर झम्टेर लगेका घटना बढ्न थालेपछि मानवीय क्षतिको डरसमेत उस्तै बढेको छ। स्थानीयवासीहरूले गौतमबुद्ध साझेदारी वन उज्ज्वलपुरमार्फत सब-डिभिजन बन कार्यालय चन्द्रौटामा सामूहिक निवेदन दिएका छन्। निवेदनमार्फत बाघ नियन्त्रण गर्न तुरुन्त आवश्यक पहल गर्न माग गरिएको हो ।
वडा नं. ६ का अध्यक्ष प्रेम बहादुर कलवारले बाघको आक्रमणले मानवीय जोखिमसमेत बढेकाले बन कार्यालयले तत्काल गम्भीरता देखाउनुपर्नेमा जोड दिए।
गौतबुद्ध साझेदारी वनका अध्यक्ष प्रवेज आलम खाँले स्थानीयले वन कार्यालयमा निवेदन बुझाएपछि सब-डिभिजन कार्यालय चन्द्रौटा र अन्य सरोकारवालासँग समन्वय भइरहेको जानकारी दिएका छन् ।
गौतमबुद्ध साझेदारी वनका फरेस्टर टोप बहादुर गुरुङले निवेदन बुझ्दै बाघले पशुचौपाया खाएको सप्रमाणसहित सम्बन्धित निकाय पेस गर्ने बताए । उनले वन कार्यालयले बाघलाई नियन्त्रण गर्न नसक्ने बताउँदै आवश्यक प्रक्रिया पुर्याएर बर्दिया वा चितवन राष्ट्रिय निकुञ्जबाट विज्ञ टोली मगाई नियन्त्रणमा लिने जानकारी दिएका हुन् ।
उनले समयमै जानकारी भएको भए छिटै नियन्त्रणको लागि पहलकदमी बढाउन सकिने भन्दै जंगल जाँदा, रातिको समय जति बेला पनि गाउँमा पस्ने सम्भावना बढी भएको हुँदा सबैलाई सचेत हुँदै सावधानी अपनाउन आग्रह समेत गरे ।








