समयमा मनसुन सक्रिय नहुँदा लुम्बिनी प्रदेशमा रोपाइँ ढिलो सुरु भएको छ । सिञ्चित क्षेत्रमा धमाधम रोपाइँ जारी भए पनि आकाशे वर्षाको भरमा रहेका खेतमा भने किसानले अझै पनि धान रोप्न सकेका छैनन् ।
लुम्बिनी प्रदेशको १२ जिल्लामध्ये पूर्वी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियामा धानखेती राम्रो हुने जिल्लाको रुपमा मानिन्छन् । असार दोस्रो सातामा पनि यस क्षेत्रमा मनसुन सक्रिय हुन नसक्दा अपेक्षाकृत रोपाइँ हुन सकेको छैन् ।
लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयका सूचना अधिकारी विवेक पन्तका अनुसार प्रदेशमा कूल धान रोपाइँ हुने क्षेत्रफलको यही असार ६ गतेसम्म जम्मा १० प्रतिशत मात्र रोपाइँ भएको छ । प्रदेशका १२ जिल्लामा गरी कूल ६ लाख ८० हजार १५ हेक्टर खेतीयोग्य जग्गा रहेको छ ।
यसमध्ये तीन लाख दुई हजार नौ सय ३९ हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । तर अहिलेसम्म २९ हजार २५० हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ भएको निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी प्यूठानमा ८२ प्रतिशत जग्गामा धान रोपाइँ भएको छ । यहाँ ६ हजार पाँच सय २५ हेक्टरमध्ये पाँच हजार तीन सय १८ हेक्टरमा धान रोपाइँ सकिएको छ ।
लुम्बिनी प्रदेशमा कुल खेतीयोग्य जमिन ५ लाख ३९ हजार ४ सय ४३ हेक्टर रहे पनि धान खेती ३ लाख ११ हजार हेक्टरमा हुने गरेको छ । सरदर ११ लाख ८५ हजार ४ सय ९३ मेट्रिक टन धान उत्पादन हुने लुम्बिनीमा दुई लाख ७६ हजार आठ सय १९ हेक्टर क्षेत्रफल मात्र सिञ्चित क्षेत्रफलको रुपमा रहेको छ ।
कूल ग्राहस्थ उत्पादनमा १४ दशमलव ८ प्रतिशत योगदान गरेको लुम्बिनी प्रदेशमा कृषि गणना २०६८ अनुसार ६ लाख ९२ हजार ९ सय ८२ कृषक परिवार संख्या रहेको छ । रोपाइँ ढिलो हुनुमा पानी नपर्नु मात्र एक कारण होइन । किसानले समयमा मल पाएनन्, ईन्धनको मूल्य बढ्दा पनि अधिकांश किसान समयमै खेत जोत्न सकेनन् । खेत जोत्न देखि लिएर पम्पिङ्ग सेटबाट तानेर खेतमा पानी लगाउन अत्यन्तै महँगो पर्ने भएको हुनाले समयमै खेत रोप्न नसकेको किसानको गुनासो छ ।
ओमसतिया गाउँपालिका–३ बस्ने गङ्गाराम चौधरीले गतवर्ष झै यसवर्ष पनि मल पाउन नसकेको बताए ।
रोपाइँको समयमा डिएपी मलको आवश्यकता हुन्छ । अहिले पनि रासायनिक मलकै भरमा नेपालमा खेती हुने गरिएको पनि किसानले आवश्यक मलको लागि सहकारीमा हप्तौँदेखि पर्खिबस्नुपर्छ । नेपालको लागि वार्षिक औषतमा ११ लाख मेट्रिक टन मलको आवश्यता हुन्छ तर नेपालमा ३ देखि ५ लाख मेट्रिक टनसम्म मात्र मलको आपूर्ति हुँदै आएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाले लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको स्याङजा तथा पूर्वी नवलपरासीमा मल पठाउने गरेको छ । अहिले कार्यालयमै मलको अभाव रहेको त्यहाका निमित्त कार्यालय प्रमुख सुमन पन्थी बताउँछन् । केही ट्रक वीरगञ्जबाट आउनुपर्नेमा बुटवल–नारायणगढको बाटोको कारण आउन नसक्दा पनि समस्या भएको उनको भनाइ छ ।
कृषि सामाग्री कम्पनी भैरहवाको लागि चालु आर्थिक वर्षमा ५६ हजार ५६ दशमलव ४५ मेट्रिक टन यूरिया र ३९ हजार ९२३ दशमलव ४५ मेट्रिक टन डिएपी मल प्राप्त भएकोमा हाल सम्म ४७ हजार ८०७ दशमलव ७ मेट्रिक टन यूरिया र ३१ हजार १९९ दशमलव ४ मेट्रिक टन डिएपी मल वितरण भइसकेको छ ।
कम्पनीको गोदाममा १० गते सम्म लुम्बिनी प्रदेशको लागि एक हजार ९८३ दशमलव २ मेट्रिक टन युरिया र दुई हजार २४३ दशमलव ३ मेट्रिक टन डिएपी मौज्दात रहेको निमित्त कार्यालय प्रमुख पन्थीले जानकारी दिए ।








