सागर वि.क., वैखरी अनलाईन ।
शान्ता कुञ्ज मधुवन धाममा वृहत वृक्षारोपण कार्यक्रमको शुभारम्भ भएको छ । विहिबार नगर प्रमुख चक्रपाणी अर्यालले नरिवलको बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
उक्त वृक्षारोपण कार्यक्रम शान्ता कुञ्ज मधुवन धामको आयोजना र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास केन्द्र कार्यक्रम कार्यान्वयन इकाई बुटवलको आर्थिक सहयोगमा सुरु भएको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै नगरप्रमुख अर्यालले विरुवा रोप्नुभन्दा पनि यसको संरक्षण महत्वपूर्ण रहने बताउनुभयो । उहाँले वृक्षरोपण गरेका विरुवाहरुको करिब १ बर्षसम्म विशेष हेरचाहमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले शान्ता कुञ्ज मधुवन धामलाई पर्यापर्यटनसंग जोड्न आवश्यक रहेको बताउनुभयो । त्यसका लागि नगरले आवश्यक सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

यस वृहत वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका २ हजार ७ सय बिरुवाहरु मधुबनधाम क्षेत्रमा रोप्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा धामका पदाधिकारीहरुसहित नगरका प्रवक्त विष्णु प्रसाद पौडेल, वडा नं.८ का वडाध्यक्ष बाबुराम अर्याल लगायत यस क्षेत्रका समाजसेवीहरुको सहभागिता रहेको थियो ।









