गृहपृष्ठ Featured कपिलवस्तुमा आँपको उत्पादन बढ्यो

कपिलवस्तुमा आँपको उत्पादन बढ्यो

फलहरूको राजा मानिएको आँपको उत्पादनमा यस वर्ष कपिलवस्तुमा ५ प्रतिशतले वृद्धि भएको छ।

चक्रीयरुपमा फल्ने आँपमा रोगकिराको प्रकोप कम देखिएको र मौसमले समेत साथ दिएकाले सामन्यरुपमा वृद्धि भएको कृषि ज्ञान केन्द्र कपिलवस्तुले जनाएको छ।

फागुन चैतदेखि नै बोटहरूमा यस वर्ष फूल, मजुर र बतिला धेरै देखिएका थिए। यो वर्ष आँप फल्ने वर्ष भएकाले फुल गत वर्षभन्दा दोब्बर बढी फुलेको थियो।

कृषि ज्ञान केन्द्रका प्रमुख भास्कर पौडेलले कृष्णगनर, विजयनगर शिवराज लगायतका स्थानका कृषकहरुसँग तथ्याङ्क लिएका आधारमा आँपको उत्पादनमा ५ प्रतिशतले वृद्धि भएको बताए।

मजुर र फूल फुल्दा बोट बिरुवाले चिस्यान पाएको, हावाहुरी समेत कम लागेको तथा रोगकिरा कम लागकोले उत्पादनमा सामान्य वृद्धि भएको उनले बताए।

जिल्लामा १ हजार ३८० हेक्टर क्षेत्रमा आँपको खेती गर्ने गरिएको छ। त्यसबाट प्रति हेक्टर १० दशमलव १९ मेट्रिक टन आँप उत्पादन भएको पौडेलले बताए।

जिल्लामा कुल १५ हजार ८१ मेट्रिक टन आँप उत्पादन भएको छ। तराई क्षेत्रमा गरिने व्यावसायिक आँप खेती कपिलवस्तुमा अत्यधिक हुने गर्दछ।

आँपमा १ वर्ष बढी फल लाग्ने र एक वर्ष कम लाग्ने गर्दछ। विभिन्न ६ स्थानमा आँपको बगैँचा भाडामा लिएर संचालन गदै आएका शिवराज नगरपालिका चन्द्रौटाका व्यापारी रपिक मुसलमानले कृषि ज्ञान केन्द्रले उत्पादन बढी भएको जनाए पनि यस वर्ष गत वर्ष भन्दा आँपको उत्पादन कम भएको बताए।

उनले कृषि ज्ञान केन्द्रले तथ्याङ्क के आधारमा लिएको आफूलाई थाहा नभएको आफूले भाडामा लिएको बगैँचामा यस वर्ष कम आँप उत्पादन भएको बताए।

उनले यस वर्ष आफूले अहिले सम्म ४० लाख बढीको आँप बुटवल, दाङ चन्द्रौटा, पोखरासम्म आँप बेचेको बताए। विगत २० वर्षदेखि व्यावसायिक आँप खेती गर्दै आएका शिवपुरका फरहान इकबालले आँपको उत्पादनस्थिर रहेको बताए।

आँपमा विशेषगरी फट्के किरा र एफिट किराको प्रकोप बढी हुने गर्दछ, जसले फुलको पराग चुस्ने र फुल झार्ने कृषि प्राविधिक बताउँछन्। यस वर्ष त्यसको असर खासै नदेखिएको उनीहरु बताउँछन्।

जिल्लाको वीरपुर, शिवपुर, विसनपुर, कृष्णनगर, पकडी बहादुरगञ्ज, खुरुहुरीया, भलवारी लगायतका स्थानमा आँपको बगैँचा बढी छन्।

यहाँ उन्नत प्रजातिका दशहरी, बाम्बेग्रीन, मालदह(कपुरी), गौरजीत, लंगडा, सफेदा, अम्रपाली, मलिका, चौसा, फजली लगायत स्थानीय जातका गरि दर्जन बढी आँपको व्यावसायिक खेती गरिन्छ।

सम्बन्धित् समाचार