काठमाण्डौ – विश्व बैंकले नेपालमा एक दशक चलेको सशस्त्र द्वन्द्व समाधानपछि उल्लेख्य रूपमा प्रगति भएको जनाएको छ । ‘नाजुक र द्वन्द्वप्रभावित स्थिति : एकअर्कासँग जोडिएका सङ्कट, बहुपक्षीय जोखिमहरू’ शीर्षकको प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले माओवादी बिद्रोहको अन्त्य र गणतन्त्र शुरु भएसँगै नेपालको आर्थिक–सामाजिक सूचकहरूमा सुधार आएको जनाएको छ ।
द्वन्द्वको समयमा नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन वृद्धिदर औसतमा २ दशमलव ४ प्रतिशत रहेकोमा द्वन्द्व समाप्तिपछि यो वृद्धिदर ३ दशमलव ६ प्रतिशत पुगेको छ । गरिबी झन्डै दुई तिहाइले घटेको तथा मानवीय पुँजी विकासमा पनि उल्लेख्य प्रगति गरेको प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनअनुसार औसत आयुमा वृद्धि भएको छ । शिशु मृत्युदर घटेको छ । सबै तहको शिक्षामा छात्र र छात्रा दुवैको भर्ना दरमा वृद्धि भएको छ । नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा महत्वपूर्ण सुधारहरू गरेको उल्लेख गर्दै प्रतिवदेनले संविधान निर्माण र पालिका तथा प्रदेश अधिकार हस्तान्तरण हुनु महत्वपूर्ण कदम रहेको ठहर गरेको छ ।
प्रतिवेदनले नेपाललाई भर्खरै द्वन्द्वबाट बाहिर आएको देशको सूचीमा राखेको छ । सशस्त्र द्वन्द्व समाधान भए पनि पनि प्राकृतिक प्रकोप, मूल्यमा उतारचढाव र विश्वव्यापी आर्थिक मन्दी जस्ता समस्याहरुको सामना गर्न सरकारको क्षमता कमजोर रहेको देखाएको छ ।








