वैखरी अनलाईन, बाणगंगा ।
लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनीमा बर्ष २०२४–२५ का अध्यक्ष भगवतीदेवी रेग्मी भुसालले बर्ष २०२५–२६ का अध्यक्ष सरस्वती सोमैलाई पद हस्तान्तरण गर्नुभएको छ । शुक्रबार बाणगंगा नगरपालिका–१ बैरियामा आयोजित छैठौ पद हस्तान्तरण कार्यक्रममा पद हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बर्ष २०२४–२५ का अध्यक्ष भुसालले आफ्नो कार्यकालमा भएका सम्पुर्ण प्रगतिहरुको विवरण प्रस्तुति गरेकी थिईन् । उहाँले सो क्रममा गरिब, विपन्नलाई सहयोग प्रदान गरेको देखि विभिन्न स्वाथ्य शिविरसहित २५ वटा कार्यक्रम गरेको विवरण प्रस्तुत गर्नुभएको थियो ।
उहाँले आफुनो कार्यकाललाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा भूमिका खेल्ने सम्पूर्णलाई धन्यवाद दिदैं आगामी दिनमा पनि निरन्तर मानवीय कार्यमा लाग्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले बर्ष २०२५–२६ का लागी अध्यक्षमा निर्वाचित सरस्वती सोमैसहितको टिमलाई शुभकामना दिदैं आफ्नो सदैव साथ सहयोग रहने बताउनुभयो ।

बर्ष २०२५–२६ की अध्यक्ष सोमैले आफ्नो कार्यकाल अवधिभर गर्ने विभिन्न कार्यक्रमहरुको योजनाबारे जानकारी गराउनुभएको थियो । सो क्रममा अध्यक्ष सोमैले वृक्षरोपण, स्वास्थ्य शिविर, छात्रवृति वितरणदेखि विभिन्न सहयोगात्मक तथा प्राकृतिक विपत्तीका कार्यक्रम गर्ने बताउनुभयो ।
उहाँले आफु माथि थप जिम्मेवारी बढेको महसुस भएको सुनाउँदै प्रस्तुत गरिएका कार्यक्रमको सफल कार्यान्वयन गर्न सबैलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका उपप्रमुख रिताकुमारी चौधरीले लायन्स क्लव महिलाहरुका लागी सिकाई केन्द्रका रुपमा स्थापित हुदैं गएको भन्दै खुशी व्यक्त गर्नुभयो । भौतिक पुर्वाधार निर्माणले मात्र विकास हुन नसक्ने भन्दै उहाँले भन्नुभयो, ‘बाटोघाटो भवन बनेर मात्र विकास हुदैंन् । सबैमा सकारात्मक चेतना विकास हुन जरुरी छ । यो महत्वपूर्ण काम लायन्सले गरेको छ ।’

सो क्रममा उहाँले स्थानीय सरकारसंग सहकार्य गरेर अघि बढ्न सुझाव दिदैं त्यसका लागि आफुले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

समाजमा महिलाको वृद्धि विकासमा महिला नै बाधक भएको भन्दै उहाँले यसलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।
लायन्स क्लव अफ कपिलवस्तुका पूर्वअध्यक्ष धातानन्द भुसालले लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनीले छोटो समयमा सयौ मानवीय क्षेत्रमा कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले मानवीय सेवामा समर्पित हुने लायन्सको मूल मर्मलाई आत्मसाथ गरेर निरन्तर अघि बढ्न आग्रह गर्नुभयो ।








