गृहपृष्ठ Featured मायादेवी साझेदारी वन : एकै बर्षमा १० करोड बढीको काठ उत्पादन

मायादेवी साझेदारी वन : एकै बर्षमा १० करोड बढीको काठ उत्पादन

कपिलवस्तु ।

कपिलवस्तुको मायादेबी साझेदारी वनले एकै बर्षमा १० करोड बढीको सालको काठ उत्पादन गरेको छ । चालु आर्थिक बर्ष २०८१÷०८२ मा ८७ हजार क्युफिट काठ उत्पादन गरेको हो ।

जसको मुल्य १० करोडको हाराहारीमा आउने साझेदारी वनका अध्यक्ष संदीप कुमार जैसवालले बताए । सालको काठ प्रति क्युफिट १२ सय पर्छ । अध्यक्ष जैसवालले पिपरा, पटना र साझेदारी वनको अन्य क्षेत्रबाट सो काठ उत्पादन गरी करिब ९० प्रतिशत संकलन गरी घाटगद्दी गरी सकिएको बताए ।

पिपराबाट ६० हजार, पटनाबाट २० हजार र अन्य स्थानबाट ७ हजार काठ संकलन गरिएको हो । वन ब्यवस्थापन योजना अनुसार पुनरुत्पादन, सुधार र योजानाबद्ध कटानको माध्यमबाट काठ उत्पादन गरिएको हो । यस्तै चालु आर्थिक बर्ष भित्रै २ सय चट्टा दाउरा समेत संकलन गरिएको छ । काठ र दाउरा बिक्रीकालागि टेन्डर निकालिएको उनले बताए ।

बिक्री भएको रकमको आधा हिस्सा साझेदारी र आधा रकम लुम्बिनी प्रदेश सरकारलाई बुझाईने उनले बताए । उठेको रकमबाट यसै क्षेत्रको वनको ब्यवस्थापन, पुर्नउत्पादन, साना विकास निर्माण लगायतका लगानी गरिने जैसवालले बताए । संकलन गरिएको गोलिया काठको छालाको भागलाई स्थानीयले आफैले निकालेर घरमा दाउराकारुपमा प्रयोग गर्न समेत दिइएको छ ।

यसबाट समेत स्थानीय उपभोक्ताले लाभांवित भएका छन । मायादेबी साझेदारीले बुटवल नारायणगढ सडकबाट पाउने सट्टा भर्नाको ५७ हेक्टर क्षेत्रमा १ लाख बिरुवा रोपिने छ ।त्यसकालागि ४ करोड ९५ लाख रकम सडक डिभिजन कार्यालय मार्फत पाईन छ ।

जसको संझौता समेत भई सकेको छ । कटान भएका ब्लकका तारबार गर्ने तथा बिरुवा उत्पादन गर्ने, फायर लाईन कार्य समेत भएको उनले बताए । अतिक्रम रोक्न २० किलोमिटर टे«न्च खन्ने काम समेत भएका उनले बताए । ‘ हामीले वन ब्यवस्थापनलाई बिशेष ध्यान दिएका छौ ’ उनले भने । बाणगंगा नगरपालिकाको ५ लाख र साझेदारीको ५ लाख गरी १० लाखमा पिपरा सव डिभिजन कार्यालयमा पोखरी निर्माण आपुर्ति समितिको सहयोगमा ७ हजार क्युफिट काठ अटने सेड निर्माण समेत गर्ने गरिएको उनले बताए । ‘ हामीले चालु आर्थिक बर्ष उत्कृष्ठ काम गरेका छौ, राष्ट्रिय पुरस्कार पाउनेमा समेत आशावादी छौ ’ उनले भने ।

डिभिजन वन का कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी पौडेलले मायादेबी साझेदारी वनले काठ उत्पादन, वन क्षेत्र अतिक्रमण हटाउने, बृक्षारोपण लगायतमा राम्रो काम गरेको बताए ।

बाणगंगा नगरपालिका वडा नम्बर १० र ११ तथा मायादेबी गाउपालिका र सुद्धोदन गाउपालिकालाई समेटर मायादेबी साझेदारी वन खडा गरिएको हो । १ हजार ८१९ दशमलव ९३ हेक्टर क्षेत्रफल रहेको साझेदारीमा २७ हजार ४४३ घरधुरी छन ।

सम्बन्धित् समाचार