काठमाडौँ ।
सामाजिक सञ्जालमा असभ्य र अशिष्ट व्यवहार गर्नेविरुद्ध गायिका एलिना चौहानले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् ।
सामाजिक सञ्जालमा दुर्व्यवहार गर्नेमध्ये अहिले चार जनाविरुद्ध उजुरी दिएको एलिनाले बताइन् ।
केही दिनयता गायिकाद्वय समीक्षा अधिकारी र एलिनाले सामाजिक सञ्जालमा आफूहरूको चरित्र हत्या गर्नेहरूको अकाउन्ट फेसबुकमार्फत सार्वजनिक गर्ने अभियान चलाइरहेका छन् । त्यसरी सार्वजनिक गरिरहँदा धेरैजसोले माफीसमेत मागेका छन् । तर कतिपय भने झन् हौसँदै एलिनाहरूमाथि गाली गलौज गर्न रोकिएनन् ।
‘त्यसरी प्रोफाइल सार्वजनिक गर्दा पनि पटकपटक असभ्य व्यवहार गर्नेहरू चार जनाविरुद्ध उजुरी दिएको छु । बाँकीविरुद्ध पनि उजुरी हाल्छु,’ एलिनाले ईकान्तिपुरसँग भनिन् ।
यसका लागि एलिनाले आफ्ना निर्धारित कार्यक्रम स्थगित गर्दै केही कार्यक्रमको मिति सारेकी छन् । ‘यसमा म लाग्नैपर्ने भयो । आफैं खटिएर लागेँ भने मुद्दाले महत्व पाउँछ कि भन्ने लाग्यो,’ उनले भनिन् ।








