गृहपृष्ठ Featured लुम्बिनीका गाडीले ५ वर्षपछि पाए हरियो नम्बर प्लेट

लुम्बिनीका गाडीले ५ वर्षपछि पाए हरियो नम्बर प्लेट

एसियाली विकास बैंकको १३ करोड रुपैयाँ अनुदानमा लुम्बिनी विकास कोषका लागि ल्याइएका विद्युतीय गाडीले ५ वर्षपछि बल्ल हरियो नम्बर प्लेट पाएका छन्।

एसियाली विकास बैंकले लुम्बिनी आउने पर्यटकहरूलाई सहज रूपमा सेवा प्रदान होस् र सवारी साधनका कारण लुम्बिनीमा प्रदूषण नबढोस् भन्ने उद्देश्यले १४ वटा विद्युतीय भ्यान र पाँच वटा विद्युतीय बस उपलब्ध गराएको थियो।

एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत ०७७ मंसिरमा ल्याइएका गाडीमध्ये एक दुई वटा भ्यान लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीहरूले प्रयोग गर्दै आए पनि अन्य भ्यान र बसहरू ५ वर्षसम्म खुला आकाशमुनि थन्किएका थिए।

दातृ निकायले अनुदानमा उपलब्ध गराएका करोडौँ मूल्यका सम्पत्ति खुला आकाशमुनि थन्किएको भन्दै लुम्बिनी बौद्ध विश्वविद्यालयमा अध्ययनरत ५ जना विद्यार्थीले अदालतमा रिट दायर गरेका थिए।

बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलमा बिए एल एल बी अध्ययनरत रोशन घिमिरे, सिमाना थापा क्षेत्री, नवीन खनाल, प्रविन तिवारी र कुल दीप तिवारीले बस र भ्यानलाई हरियो नम्बर प्लेट दिन माग गर्दै गत असोजमा दिएको रिटमाथिको बहसपछि उच्च अदालत तुलसीपुर बुटवल इजलासले लुम्बिनी विकास कोष मातहत रहेका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गरी सञ्चालन गर्न परमादेश जारी गरेको थियो।

सम्बन्धित् समाचार