रुपन्देही ।
लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनअन्तर्गत चौधौँ बैठक सुरु भएको छ । दिउँसो ३ बजे बैठक बसेपनि प्रतिपक्ष दलको अवरोधका कारण स्थगित भएको बैठक साढे तीन घन्टापछि मात्रै सुरु भएको छ ।
यो बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादी सहभागी भएका छैनन् भने लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपाल प्रतिपक्षको रुपमा सदनमा उपस्थित भएपछि बैठक सुरु भएको हो ।
लोकतान्त्रिक समाजवादी यसअघि सत्तापक्षमा थियो । आज मात्रै यो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसेको हो । बैठकमा छुटेका योजनाहरु समावेश गर्ने आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले सदनमा ‘आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान’ माथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् । अहिले बैठकमा बजेट माथिको सैद्धान्तिक छलफल जारी छ ।
प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले लोसपा मंगलबार नै पहिले सत्तापक्ष र पछि प्रतिपक्षमा बसेको बताए ।








