वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको मायादेवी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण तेलीले सुशासन, चुस्तसेवा र पारदर्शीतालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । वैखरीसंगको कुराकानीमा उहाँले पालिकामा सुशासन, सार्वजनिक सेवा प्रवाहमा चुस्त र परदर्शीता कायम गरिएको बताउनुभयो ।
उहाँले जनमैत्री स्थानीय सरकारको अनभूति दिलाउँदै जनताका प्राथमिकतालाई नै पहिलो प्राथमिकता दिएको दाबी गर्नुभयो । उहाँले जनताका गुनासोहरु केही भएको खण्डमा तत्काल सुनुवाई भई सम्बोधन हुने पारिपाटीको थालनी गरेको बताउनुभयो ।
उहाँले कुनै कार्यसम्पादनका क्रममा कर्मचारीबाट केही त्रुटि भए तत्काल सच्चाउने गरिएको समेत बताउनुभयो । उहाँले पालिकाभित्र राजनितिक आस्थाका आधारमा काम गर्न निषेध गरेको बताउनुभयो ।
स्वयम् अनुगमन गरेर कामको गुणस्तरियता हेरेर मात्र योजनाहरुको भुक्तानी गर्ने गरिएको उहाँले बताउनुभयो । आव २०८२/०८३ मा पालिकाले शिक्षा, स्वास्थ्यसंगै कृषि र पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिएको उहाँले बताउनुभयो ।
गुणस्तरिय विकास प्राप्ति जनताको अधिकार भएको बताउँदै उहाँले योजनाका विभिन्न काम कम गुणस्तरका भएको पाईए आफु त्यसमा नचुक्ने दाबी गर्नुभयो । विकास कसैको दया, माया र कृपाबाट सिर्जना नहुने उहाँको भनाई छ । उहाँले मायादेवीको विकास र समृद्धिका ऐजेण्डामा सबै जनप्रतिनिधिको एकमत हुनुपर्ने बताउनुभयो ।








