सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिका दुधमा आत्मनिर्भर पालिका घोषणा भएको छ । सोमबार पालिकामा आयोजित एक कार्यक्रमकाबीच बाणगंगालाई दुधमा आत्मनिर्भर पालिका घोषणा गरिएको हो ।
सोको प्रमाणपत्र लुम्बिनी प्रदेश सांसद विष्णु पन्थी र जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले संयुक्त रुपमा नगरप्रमुख चक्रपाणी अर्याल र उपप्रमुख रिता कुमारी चौधरीलाई हस्तान्तरण गर्नुभएको थियो ।

नगरप्रमुख अर्यालले यो घोषणासंगै बाणगंगा नगरपालिका दुधमा आत्मनिर्भर हुने लुम्बिनी प्रदेशकै पहिलो र देशको तेस्रो पालिका बनेको बताउनुभयो । उहाँले बाणगंगामा वार्षिक ८८ लाख ९७४ लिटर दूधको माग रहेकोमा ९१ लाख २५ हजार ४४५ लिटर दूध उत्पादन भइरहेको बताउनुभयो । उहाँले हाल बाणगंगामा नगरपालिकाभित्र ३ लाख २४ हजार ४७१ लिटर दूध बढी उत्पादन भइरहेको जानकारी दिनुभयो ।
नगरमा खपत भएको भन्दा बढी उत्पादित दूधजन्य पदार्थ जिल्ला बाहिर पनि निर्यात हुने गरेको उहाँले बताउनुभयो । उहाँले विगतमा पूर्वाधार निर्माणमा लगानी गरेर एक तहको आधारभूत सडक पूर्वाधार तयार भईसकेको बताउँदै अब सामाजिक विकासमा नगरको लगानी केन्द्रित हुने बताउनुभयो । दिगो विकासका १७ ओटा लक्ष्यहरु स्थानीय सरकारले पुरा गर्न नसके राज्यको दिर्धकालीन सोच पुरा हुन नसक्ने उहाँको भनाई छ ।
सो क्रममा प्रदेश सांसद पन्थीले विगत १० बर्ष यता बाणगंगा नगरपालिका क्षेत्रमा आमूल परिवर्तन भएको बताउनुभयो । उहाँले सडक पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, खानोपनी, कृषि पशुपालन लगायतका क्षेत्रमा उपलब्धि हासिल गरिएको बताउनुभयो ।
उहाँले लुम्बिनी प्रदेशमा रहेका ४ ओटा उपमहानगरपालिकालाई बाणगंगाले विकास निर्माणका काममा टक्कर दिन सक्ने क्षमता रहेको बताउनुभयो । बाणगंगा प्रदेशमा सबैभन्दा बढी राजश्व बुझाउने नगरपालिका भएको बताउदैं उहाँले भन्नुभयो, ‘आज दुधमा आत्मनिर्भर हुने प्रदेशकै पहिलो पालिका बन्यौं । हामी हरेक काममा पहिलो हुन सक्छौं ।’
उहाँले दुधमा आत्मनिर्भर मात्र नभएर दुग्धजन्य पदार्थको निर्यात गरेर करोडौं रुपैयाँ भित्राउन सकिने भन्दै त्यसतर्फ अघि बढ्न अपिल समेत गर्नुभएको छ । रासायनिक मलमा राज्यको बर्षेनी अर्बौ रकम खर्च भएको बताउँदै उहाँले भन्नुभयो, ‘हामीलाई किसानलाई कहिल्यै पनि सन्तुष्ट पार्न सकेनौं । अब बाणगंगालाई जैविक मलमा आत्मनिर्भर बनाउनुपर्छ ।’
जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले बाणगंगाले जिल्लाकै नेतृत्व गरेर सामाजिक विकासका गतिविधिलाई अघि बढाउनुपर्ने बताउनुभयो । ‘बाणगंगा नगरपालिका मात्र विकास र समृद्धिको यात्रामा एक्लै अघि बढेर हुदैंन् । जिल्लाका अन्य पालिकालाई पनि साथमा लिएर अघि बढ्नुपर्छ, अनि मात्र समग्र जिल्लाको विकासको गतिमा अघि बढ्छ र जिल्लाको छवि बदलिन्छ,’ उहाँले भन्नुभयो ।
उपप्रमुख रिता कुमारी चौधरीले अब बाणगंगावासीलाई दुधसंगै अन्य खाद्यपदार्थमा पनि आत्मनिर्भर बन्ने दिशातर्फ अघि बढेको बताउनुभयो । यसले स्थानीय अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उपप्रमुख चौधरीको विकास छ । पशुपालनतर्फ कृषकहरुको आकर्षण बढेसँगै आवश्यक दूधजन्य पदार्थको उत्पादन हुँदा नगरपालिका आत्मनिर्भर बनेका उहाँको भनाई छ ।
नगरपालिका पशुशाखा प्रमुख राजकुमार तिवारीले विगत ३ बर्षको तथ्याँक अनुसार आर्थिक वर्ष २०७८/७९ मा भन्दा आर्थिक वर्ष २०८०÷८१ मा दूध उत्पादनमा वृद्धि भएको बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७८/७९ मा नगरमा ८५ लाख २४ हजार ७४४ लिटर दूध उत्पादन भएको थियो ।
तथ्याँक अनुसार प्रति व्यक्ति वार्षिक ९१ लिटर दूध आवश्यकता पर्ने भएपनि ९४.३५ लिटर दूध उपलब्ध भइरहेको छ । पालिकामा उत्पादित दूधमा भैँसीको योगदान बढि रहेको शाखा प्रमुख तिवारीले बताउनुभयो । उहाँका अनुसार नगरपालिकामा ६५ लाख ८८ हजार ९४५ लिटर दुध भैंसीबाट तथा २५ लाख ३६ हजार ५०० लिटर दुध गाईबाट उत्पादन भएको छ ।
यसैबीच बाणगंगा नगरपालिकाको वडा नं. २ पूर्ण सरसफाईयुक्त र पूर्ण पोषणमैत्री वडा घोषणा भएको छ । सोही कार्यक्रममा वडा नं. ५ र ८ पूर्ण पोषणमैत्री वडा दिगोपना घोषणा गरिएको छ भने पिपरा अस्पताल, गजेहडा स्वास्थ्य चौकी र भलवाड स्वास्थ्य चौकीलाई पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । यसैगरि सोही क्रममा कोपवा स्वास्थ्य चौकी र मोतिपुर स्वास्थ्य चौकीलाई पोषण मैत्री स्वास्थ्य संस्था दिगोपना घोषणा गरिएको छ ।








