काठमाडौं ।
नेपाल सरकारले राष्ट्रिय जनसख्या नीति, २०८२ पारित गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त नीति पारित गरेको हो ।
प्रजनन दरलाई प्रतिस्थापन तहमा सन्तुलन कायम गर्ने गरी अन्तरसम्बन्धित नीति सुधार तथा विभिन्न प्रोत्साहनात्मक कार्यक्रम समेटिएका छन् । अर्थात यो भनेको एक दम्पतीले कम्तीमा पनि दुई बच्चा जन्माउनुपर्छ । हाल नेपालको प्रजनन दर १.९३ छ ।
देशको बदलिंदो जनसांख्यिक संरचना, संघीय शासन प्रणाली, प्रविधिमा आएको परिवर्तन र सामाजिक न्यायका सवालहरू समेटेर समृद्ध नेपाल निर्माणतर्फ मार्गप्रशस्त गर्ने उद्देश्यले नीति ल्याइएको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बताए ।
शहरी क्षेत्रमा बसाइँसराइ बढ्नु तथा विदेश जानेको सङ्ख्या वृद्धि हुनुमा रोजगारी र अवसर अभाव प्रमुख समस्या रहेको भन्दै उनले यसका लागि नीतिगत सुधार आवश्यक रहेको महसुस गरेर नयाँ नीति ल्याइएको मन्त्री पौडेलले बताए ।
‘प्रजनन दर ऋणात्मक हुने अवस्थामा नजाओस्, त्यसको असर जनसांख्यिक विकासमा नपरोस् भनेर अपनाउँदै नीतिमा परिवर्तन ल्याएका हौं,’ मन्त्री पौडेलले भने ।
२०७८ को राष्ट्रिय जनगणनाअनुसार नेपालमा जनसंख्या वृद्धिदर ०.९२ प्रतिशतमा झरेको छ भने प्रजनन दर प्रतिस्थापन तहभन्दा तल १.९३ छ । जबकि, प्रजनन दर २.१ भन्दा बढी हुनुपर्ने विज्ञ बताउँछन् ।