बुटवल ।
आउँदो कात्तिक १७ गते हुने रूपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भन्दै सन्तोष गिरीले घरदैलो अभियान सुरु गरेका छन् ।
रुपन्देही क्षेत्र नम्बर ३ मा पर्ने तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनी स्थायी घर भएका ३३ वर्षीय गिरीले एक हप्तादेखि मतदातालाई भेट्दै आफू बालेन साहको टिमको उम्मेदवार बन्ने भन्दै प्रचार गरिरहेका छन् ।
०७९ सालको निर्वाचन जितेर सांसद बनेका राप्रपाका वरिष्ठ नेता दीपक बोहराको निधन भएकाले आगामी कार्तिक १७ गते उपनिर्वाचन हुन लागेको छ ।
गत निर्वाचनको समानुपातिक मतका आधारमा धेरै मत पाएका दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, रास्वपा, राप्रपा र सात मधेश केन्द्रित दलहरुको संयुक्त लोकतान्त्रिक मोर्चाबाट उम्मेदवार टुंगो लाग्न बाँकी छ ।
हालसम्म राष्ट्रिय जनमोर्चाले बद्रे आलमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै गत वैशाखमा राप्रपा छाडेका भैरहवाका इट्टा उद्योगी अजयकुमार गुप्ता र बुटवल मोतिपुरका लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।
सन्तोष गिरी भने स्वतन्त्र उम्मेदवारी दिने भन्दै निर्वाचन क्षेत्रका वडाहरु घुमिरहेका छन् ।
उम्मेदवारी दिने निश्चित भएपछि नेपाल स्वीस च्याम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृतको जागिर छाडेको उनी बताउँछन् । ‘पहिलो चरणको भेटघाट सकेपछि साउन २३ गते उम्मेदवारीको औपचारिक घोषणाको तयारीमा छु,’ गिरीले भने ।
विगतमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु रुपन्देहीको सहसचिव भएर काम गरेका गिरीले अर्थशास्त्रमा स्नातकोत्तर गरेको बताउँछन् ।