कृष्णनगर, ३२ असार ।
कपिलवस्तुकाे कृष्णनगर नगरपालिकामा जस्तापाता वितरण गरिएको छ । बुधबार ४ सय ४ जनालाई जस्तापाता वितरण गरिएकाे नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिए । प्रत्येक व्यक्तिलाई १३ वटा जस्ता पाता, ८ वटा एसएम पाइप, साथै आवश्यक नटबोल्ट र हुक जस्ता सामग्रीहरू वितरण गरिएको उनले जनाए ।
नगर प्रमुुख शाहले यो कार्यक्रम फुसको छानो मुक्त अभियान अन्तर्गत जस्तापाता लगायत सामग्री वितरण गरिएको बताउँदै छानोको गुणस्तर सुधार गरिएको बताए । यस प्रकारको पहलले स्थानीय समुदायमा आवासीय समस्या समाधान गर्न र मानिसहरूको जीवनस्तर उठाउन मद्दत गर्ने अपेक्षा गरिएको शाहकाे भनाइ छ ।
उनले स्थानीय बासिन्दाहरूले यस्ता कार्यक्रमहरूको प्रशंसा गर्दै यसले उनीहरूको घरको छाना सुरक्षित र टिकाउ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे । यस्तो गरिब, विपन्न परिवारका लागि याे अभियान भविष्यमा पनि जारी रहने उनलेे प्रतिबद्धतासमेत जनाए ।
संघीय अनुदान कार्यक्रम अन्तर्गत बुधबार तीन वर्षमा १ हजार घरधुरीलाई जस्तापाता वितरणको लक्ष्य अनुसार दोस्रो चरण अन्तर्गत ४ सय ४ जनालाई वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले बताए ।
कार्यक्रममा नगर उप-प्रमुख आरती देवी चाैधरी, वडा अध्यक्षहरु हरिपाल चतुर्वेदी, सतिश कुमार हरिजन, कृष्ण कुमार कौलापुरी, जावेद आलम खाँ, तुङ्गनाथ चौधरी, जीवन श्रीवस्तव, इन्जिनियर विनय गुप्ता लगायतकाे उपस्थिति रहेको थियोे ।








