काठमाडौं ।
६ महिनाभित्र छाप्न बाँकी २६ लाख लाइसेन्स प्रिन्ट गरेर वितरण गर्ने तयारीसाथ काम अघि बढाएको छ । योसँगै नयाँ ट्रायल र नवीकरणका लागि आवेदन दिएकाहरूले अब एकैपटक लाइसेन्स पाउने छन् ।
यातायात व्यवस्था विभागको एउटामात्रै मेसिनले ५ लाख र बाँकी २६ लाख थान सुरक्षण मुद्रण केन्द्रले छपाइ गर्नेछ । त्यसका लागि विभाग र केन्द्रबीच सम्झौता भइसकेको छ ।
हालसम्म विभागले मात्रै लाइसेन्स प्रिन्ट गरेर अति आवश्यक परेकोलाई वितरण गर्दै आइरहेको थियो । दैनिकरूपमा विभागमा आएर र अनलाइनबाट फर्म भरेर अति अत्यावश्यक परेकाहरूको ५ सय लाइसेन्स छापिँदै आएको छ । त्यसको अतिरिक्त देशभरबाट दैनिक नयाँ र नवीकरणका लागि ५ हजार लाइसेन्स प्रिन्टका लागि आउने गरेको छ ।
विभागका वरिष्ठ कम्प्युटर इन्जिनियर केशव खतिवडा सुरक्षण मुद्रणले बाँकी रहेको मध्ये २६ लाख लाइसेन्स प्रिन्ट गर्ने भनेर सम्झौता भइसकेको बताउँछन् ।








