लुम्बिनी प्रदेशमा एक वर्षमा सवारी नियम उल्लंघन गरी सञ्चालन भएका सवारीसाधनबाट १७ करोड ८३ लाख ८३ हजार ४११ रुपैयाँ जरिवाना संकलन भएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल मार्फत आर्थिक वर्ष २०८१/८२ मा प्रदेशका १२ वटै जिल्लामा गरिएको जाँचको क्रममा सवारी नियम उल्लंघन गर्ने १ लाख ७० हजार ८० वटा सवारीसाधनबाट उक्त जरिवाना संकलन भएको हो।
संकलित जरिवाना रकम अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा ४१ लाख ४५ हजार ९१६ रुपैयाँ बढी हो। अघिल्लो आर्थिक वर्षमा सवारी नियम उल्लंघन गर्ने सवारीसाधनबाट १७ करोड ४२ लाख ३७ हजार ५०३ रुपैयाँ जरिवाना संकलन भएको थियो।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भन्दा गत आर्थिक वर्ष २०८१/८२ मा जरिवाना रकम बढी संकलन भएको थियो। सवारी नियम उल्लंघन गरी कारबाहीमा पर्ने सवारीसाधनको संख्या भने अघिल्लो आर्थिक वर्षमा भन्दा ६३ हजार १६ ले कमी हो।
आर्थिक वर्ष २०८०/८१ मा २ लाख ३३ हजार ९६ वटा सवारीसाधन कारबाहीमा परेका थिए।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले अघिल्ला वर्षहरूमा एउटै सवारीसाधन गन्तव्यमा नपुग्दासम्म दोहोरो तेहेरो चेकप्वाइन्टमा कारबाहीमा पर्ने गरेकोमा पछिल्लो समय एउटा चेकप्वाइन्टमा कारबाहीमा परेको सवारीसाधनलाई गन्तव्यमा नपुग्दासम्म अर्को चेकप्वाईन्टमा कारबाही गर्न रोकिएपछि सवारीसाधनको संख्या कमी देखिएको बताए।
शर्माका अनुसार सवारीसाधनको संख्यामा कमी देखिए पनि जरिवाना दस्तुर बढेका कारण जरिवाना रकम भने बढी संकलन भएको हो।
सबैभन्दा बढी रुपन्देहीमा ५० हजार ४४१ वटा सवारीसाधन कारबाहीमा पर्दा ६ करोड ८ लाख ४९ हजार १२ रुपैयाँ जरिवाना संकलन भएको छ।
रूपन्देहीमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल मार्फत १ करोड १८ लाख ८७ हजार ३ रुपैयाँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही मार्फत ४ करोड ८९ लाख ६२ हजार ९ रुपैयाँ जरिवाना संकलन भएको हो।








